कात्तिक १९ गतेभित्र क्षतिको आँकलन हुने


काठमाडौं।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आन्दोलनका क्रममा भएको क्षतिको विवरण निकाल्ने काम सुरु गरेको छ । प्राधिकरणले प्राविधिक समिति गठन गरी ४५ दिनभित्र विवरण तयार गर्ने गरी सोमबारदेखि कार्य अघि बढाएको छ ।

समितिमा राष्ट्रिय योजना आयोग, सहरी विकास तथा भवन निर्माण विभाग, पुरातत्व विभागका प्रतिनिधिका साथै नेपाल इन्जिनियर्स एसोसिएसन, स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, सोसाइटी अफ मेकानिकल इन्जिनियर्स नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालका प्रतिनिधिलाई समावेश गरिएको छ ।

समितिले आगामी कात्तिक १९ गतेभित्र क्षतिको लेखाजोखा पूरा गर्ने तयारी छ । अहिलेसम्मको प्रारम्भिक विवरणअनुसार देशभरका ७ सयभन्दा बढी सरकारी कार्यालय भवनमा तोडफोड र आगजनी भएको छ । साथै सरकारी कार्यालयका हजारौं सवारी साधनमा समेत क्षति पुगेको छ । रंग रोगनका कारण आगलागीबाट क्षतिको मूल्यांकन गर्न कठिन हुने भएकाले क्षति भएको संरचनामा आवश्यक ‘स्ट्रक्चरल इन्टिग्रिटी एसेसमेन्ट’ नगरी रंगरोगन वा मर्मत कार्य नगर्न अनुरोध गर्ने विषयमा समितिभित्र छलफल भएको स्रोतले जानकारी दियो ।

यसअघि सचिवस्तरीय बैठकले क्षतिग्रस्त संरचनाको पोस्ट डिजास्टर निड एसेस्मेन्ट (पीडीएनए) रिपोर्ट बनाउनुपर्ने र राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र प्राधिकरणसँगको सहकार्यमा अघि बढाउने निर्णय गरेको थियो ।