जेन–जी आन्दोलनको क्षति: २५ सय निवेदनमा साढे २२ अर्बको बीमा दाबी


काठमाडौं।

जेन–जी आन्दोलनका कारण भएको क्षतिबाट बीमा कम्पनीहरूमा अहिलेसम्म करिब २ हजार ५ सय निवेदनमा करिब साढे २२ अर्ब रुपियाँको दाबी दर्ता भएका छन् । क्षतिको मूल्यांकन जारी रहेको, दाबी गर्ने म्याद अझै बाँकी रहेको, क्षतिको स्थिति हेर्दा यस घटनामा बीमा दाबी रकम अहिलेको रकममा दोब्बरभन्दा बढी हुनसक्ने आँकलन गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बीमातर्फ परेको छ । सम्पत्ति बीमातर्फ ५३८ वटा दाबी दर्ता भई १८ अर्ब ६१ करोड रुपियाँ बराबरको दाबी रहेको छ, जुन कुल दाबीको ८३ प्रतिशत हो । त्यसपछि मोटर बीमातर्फ १ हजार ७७८ वटा दाबी दर्ता भई २ अर्ब ९५ करोड रुपियाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ १३२ वटा दाबी बापत ३३ करोड रुपियाँ, परिवहन बीमातर्फ ११ वटा दाबी बापत १ करोड ५५ लाख रुपियाँ र अन्य बीमा शीर्षकमा ३४ करोड रुपियाँभन्दा बढीको दाबी परेको छ ।

प्रदेशगत हिसाबले बागमती प्रदेशमा सबैभन्दा बढी क्षति भएको छ । राजधानी केन्द्रित आन्दोलनका कारण यस प्रदेशमा मात्रै १ हजार ३४३ वटा दाबी बापत १७ अर्ब ९७ करोड रुपियाँको दाबी दर्ता भएको छ ।

त्यसैगरी कोशीमा १ अर्ब ६५ करोड, गण्डकीमा १ अर्ब २९ करोड, मधेसमा ५५ करोड, लुम्बिनीमा ४५ करोड, सुदूरपश्चिममा २३ करोड र कर्णालीमा करिब ९ करोड रुपियाँ बराबरको दाबी परेको छ । अहिले सबैभन्दा बढी बीमा दाबी द ओरियण्टल इन्स्योरेन्समा परेको छ । सो कम्पनीले ७३ वटा दावीबापत ५ अर्ब २२ करोड ९८ लाख रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ, जसमा २७९ वटा दाबी दर्ता भई ५ अर्ब ८ करोड रुपियाँ बराबरको दाबी परेको छ । तेस्रोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ, जसमा १७० वटा दाबी दर्ता भई २ अर्ब ७६ करोड रुपियाँको दाबी परेको छ ।

यसैगरी शिखर इन्स्योरेन्समा ३७४ वटा दाबीवापत २ अर्ब ३९ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा दाबी वापत १ अर्ब ५४ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी वापत १ अर्ब १५ करोड र नेको इन्स्योरेन्समा २११ वटा दाबीवापत १ अर्ब ११ करोड रुपियाँभन्दा बढीको दाबी परेको छ ।

अन्य कम्पनीहरूमध्ये सानिमा जीआईसीमा ८१ करोड, युनाइटेड अजोडमा ५१ करोड, नेपाल इन्स्योरेन्समा ४७ करोड, एनएलजीमा ४५ करोड, राष्ट्रिय बीमा कम्पनीमा ४० करोड, प्रभु इन्स्योरेन्समा २० करोड र नेसनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपियाँ बराबरको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, चार वटा लघु बीमा कम्पनीमा समेत करिब ३ करोड रुपियाँ बराबरको दाबी परेको छ ।