संस्कृति संरक्षणका लागि श्रीकेदारमा रामलीला

376
Shares

बैतडी ।

संस्कृति संरक्षणका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–४, पीपलकोटमा रामलीला महायज्ञ लाग्ने भएको छ । श्रीकेदार संस्कृति संरक्षण समाजको आयोजनामा सञ्चालन हुने रामलीला यही असोज १८ गतेदेखि शुरू हुनेछ ।

रामलीला श्रीकेदार मा.वि., पीपलकोटको प्राङ्गणमा सञ्चालन हुने श्रीकेदार संस्कृति संरक्षण समाजका सदस्य उमेश भट्टले जानकारी दिनुभयो । रामलीला महायज्ञ सञ्चालनका लागि इन्द्रदेवशरण भट्टको संयोजकत्वमा ५६ जनाको मूल आयोजक समिति गठन गरेर तयारी थालिएको छ । भट्टले भन्नुभयो, ‘रामलीलाको तयारी थालिएको छ । कथा खेल्ने कलाकारहरुको तयारी, साउन्ड सिस्टमलगायतको व्यवस्थापन भइसकेको छ ।’

यसै बीच रामलीलाका कलाकारको तालिम सञ्चालनमा रहेको छ । रामलीलाको कलाकार छनौटका लागि बुद्धिवल्लभ धानुकको नेतृत्वको सांस्कृतिक टिमलाई जिम्मा दिइएको छ । सामाजिक सद्भाव, धर्म, संस्कृति सरक्षण गर्दै समाजलाई सही मार्गमा डो¥याउने उद्देश्यले रामलीलाको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक भट्टले बताउनुभयो ।

‘हामी सबैको एकै सार, अटुट संस्कृति हाम्रो हाम्रो श्रीकेदार’ भन्ने नाराका साथ स्थापना भएको समाजले विभिन्न सांस्कृतिक र सामाजिक कार्य गर्दै आएको समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।