बायर्नको जितमा केनको ह्याट्रिक


लन्डन, (एजेन्सी)

हेरी केनको शानदार प्रदर्शनको मब्द्दतले बायर्न म्युनिखले बुन्डेसलिगामा शनिबार हाँफेनहाइममाथि ४–१ को सशक्त जित दर्ता गरेको छ ।
इंग्ल्यान्डका कप्तान केनले सिजनको दोस्रो ह्याट्रिक पूरा गर्दै टोलीलाई लगातार जितको लयमा राख्न महत्वपूर्ण भूमिका खेले । ३२ वर्षीय केनले पहिलो हाफको अन्त्यतिर (४४ औं मिनेटमा) गोल गर्दै खाता खोलेका थिए ।

यसपछि दोस्रो हाफमा पेनाल्टीमा दुई गोल गर्दै केनले ह्याट्रिक पूरा गरे । उनले खेलको ४८ औँ र ७७ औं मिनेटमा पेनाल्टीमार्फत् दुई गोल थपेका थिए ।
यो केनको बुन्डेसलिगा करियरको नवौं ह्याट्रिक हो भने यस सिजनको दोस्रो ह्याट्रिक हो । यस सिजनमा उनले ७ खेलमा १३ गोल गरिसकेका छन् ।
खेलको ८२औँ मिनेटमा हाँफेनहाइमका भ्लादिमिर कौफलले फ्रि–किकमार्फत सान्त्वना गोल फर्काए । यो चेक खेलाडी भ्लादिमिरको सो क्लबका लागि पहिलो गोल थियो ।

इन्ज्युरी समयको नवौं मिनेटमा सर्ज ग्नाब्रीले चौथो गोल गर्दै बायर्नको जित सुनिश्चित गरे । यस जितसँगै बायर्न म्युनिखले सिजनको शतप्रतिशत सुरुआत कायम राख्न सफल भएको छ ।