चार नेपालीले विश्व माउन्टेन र ट्रेल रनमा खेल्ने


काठमाडौं।

स्पेनमा आयोजना हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिपमा नेपालका चार शीर्ष धावकले प्रतिस्पर्धा गर्ने भएका छन् ।
विश्व एथलेटिक्सद्वारा सेप्टेम्बर २४ देखि २९ तारिखसम्म स्पेनको क्यान फ्रान्कमा सञ्चालन हुने प्रतियोगितामा सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

यद्यपि भिसाका कारण नेपालबाट पूरा टिम सहभागी हुन नसक्ने निश्चित भएको छ । तर, सबैभन्दा उच्च वरियताका चार धावकले भने यो प्रतिष्ठित प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेका छन् ।

पुरुषतर्फ नेपालका नम्बर एक तथा एसियाका शीर्ष स्थानमा रहेका सुमन कुलुङ र महिलातर्फ नेपाल नम्बर एक तथा एसियाकी तेस्रो वरियताकी खेलाडी सुनमाया बुढासहित चारै जना खेलाडीले सिंगल लामो दूरीको ट्रेल रन इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम म्यानेजर प्रिती खत्रीका अनुसार खेलाडी छनोट पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप गरिएको हो । “छनोट प्रक्रियामा प्रमुख आधारका रूपमा इन्टरनेसनल ट्रायल रनिंग एसोसिएसन (आईटीआरए) वरियतालाई प्राथमिकता दिइएको हो,”
खत्रीले भनिन्,“जसअनुसार पुरुष खेलाडीका लागि कम्तीमा ८ सय ६० आईटीआरए स्कोर आवश्यक थियो । यही मापदण्डका आधारमा शीर्ष तीन पुरुष र एक महिला खेलाडी छनोट भएका हुन् ।”

उनले थपिन्, “हाम्रा खेलाडीले असाधारण प्रदर्शन र उच्च अन्तर्राष्ट्रिय वरियताका आधारमा आफूलाई योग्य प्रमाणित गरेका छन् । प्रतियोगिता विश्वस्तरीय भएकोले उनीहरूको सहभागिता नेपालको लागि गर्वको विषय हो ।”