काठमाडौं ।
धितोपत्र बोर्डले १५ मिनेटको औसत मूल्य गणना गर्ने विधिलाई स्थगन गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्ड बैठकले लगानीकर्ताको तीव्र विरोधपछि हाललाई यो व्यवस्था लागू नगर्ने निर्णय गरेको हो ।
आइतबारदेखि अन्तिम कारोबार मूल्यलाई नै अन्तिम मूल्य मान्ने पुरानै नियम कार्यान्वयनमा रहनेछ। बैठक अघि नै ठूलो संख्यामा लगानीकर्ता बोर्ड परिसरमा जम्मा भई चर्को विरोध प्रदर्शन गरेका थिए। तीव्र दबाबका कारण बोर्डले प्रस्तावित प्रणाली तत्कालका लागि रोक्ने निष्कर्ष निकालेको हो । यसैबीच पुँजी बजारमा देखिएका विसंगति र समस्या समाधानका उपाय सुझाउन अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको पहलमा शुक्रबार चार सदस्यीय कार्यदल गठन भएको हो ।
नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन् ।अर्थमन्त्रीस्तरीय निर्णयअनुसार गठित उक्त कार्यदललाई पाँच दिनभित्र ठोस सुझावसहित कार्यान्वयनयोग्य योजना पेश गर्न निर्देशन दिइएको छ। कार्यदलले प्रणालीगत तथा प्रक्रियागत सुधारमार्फत आम लगानीकर्ताको विश्वास वृद्धि गर्ने उद्देश्य राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया