काठमाडौं ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेसबारे फेरि चर्चा सुरु गरेका छन्। ट्रम्पले आफ्ना सामाजिक सञ्जालमा तालिबानलाई चेतावनी दिँदै उक्त हवाई अड्डा अमेरिकालाई नफर्काए गम्भीर परिणाम हुने दाबी गरेका छन्।
काबुलबाट करिब ६० किलोमिटर उत्तरमा रहेको बगराम एयरबेस अफगान युद्धका क्रममा अमेरिकी सेना र नाटो अभियानको मुख्य केन्द्र मानिएको थियो। यो एयरबेस १९८० को दशकमा सोभियत संघले निर्माण गरेको हो। सन् २००१ मा अमेरिकी सेनाले अलकायदा विरुद्धको कारबाही थालेपछि बगराम अमेरिकाको प्रमुख सैन्य आधार बनेको थियो। तर, सन् २०२१ मा तालिबानले पुनः सत्ता कब्जा गर्नुअघि नै अमेरिकी सेना त्यहाँबाट हटिसकेको थियो।
ट्रम्पले हालै बेलायतका प्रधानमन्त्री कीर स्टारमरसँगको भेटमा आफू तालिबानसँग वार्तामा रहेको र अमेरिकाले बगराम एयरबेस फिर्ता लिन चासो देखाएको बताएका छन्। उनले भने, –हामी यसलाई अफगानिस्तानका लागि होइन, चीनका कारण फिर्ता चाहन्छौँ। बगराम चीनको परमाणु मिसाइल निर्माण केन्द्र नजिकै अवस्थित ।
उनको दाबी अनुसार, बगराम एयरबेस रणनीतिक दृष्टिले संसारकै ठूलो र शक्तिशाली हवाई अड्डामध्ये एक हो। करिब ३ दशमलव ५ किलोमिटर लामो कंक्रीटको धावनमार्ग (रनवे) भएको यस बेसमा बमवर्षक र विशाल मालवाहक विमान सहजै उडान–अवतरण गर्न सक्छन्।
तर, तालिबानले ट्रम्पको दाबी खण्डन गर्दै बगराममा चीनको कुनै पनि सैन्य उपस्थिति नरहेको स्पष्ट पारेका छन्। तालिबानका प्रवक्ताले भनेका छन्, बगराम अफगानिस्तानकै सार्वभौमसत्ता अन्तर्गत छ, बाह्य शक्ति वा विदेशी सैन्य उपस्थिति छैन।
दक्षिण एसियामा पार्ने सम्भावित असर
विशेषज्ञहरूले बगराम एयरबेसमाथि अमेरिकाको पुनः चासो देखिनु सामान्य मात्र होइन, क्षेत्रीय प्रतिस्पर्धाको हिस्सा भएको बताउँछन्। अफगानिस्तान भारत, चीन, र पाकिस्तानबीचको भू–राजनीतिक केन्द्रमा रहेको हुँदा यहाँको सैन्य उपस्थिति दक्षिण एसियामा शक्ति सन्तुलनमा प्रत्यक्ष असर पार्छ।
चीनसँग तनावभइरहेको बेला बगराम पुनः अमेरिकाले नियन्त्रणमा लिने प्रयास गर्दा चीनले यसलाई आफ्ना पश्चिमी सीमासँग जोडिएको सुरक्षा चुनौतीका रूपमा लिन सक्ने अनुमान छ। भारतले यसलाई चीनविरुद्ध अमेरिकी उपस्थिति बलियो हुने संकेतका रूपमा हेर्नेछ भने पाकिस्तानले आफ्ना सीमामा अमेरिकी प्रभाव बढ्ने चिन्ता गर्नेछ।
अमेरिकाले तालिबानसँग सम्झौता गरेर बगराम कब्जा गर्ने हो भने, यसले तालिबानलाई अन्तर्राष्ट्रिय मान्यता र सम्झौतामा ल्याउन सक्नेछ। तर यसले अफगान राजनीतिमा नयाँ शक्ति संघर्ष निम्त्याउने सम्भावना पनि बढाउँछ।
बगराम एयरबेसमाथिको रस्साकस्सी केवल अफगानिस्तानको आन्तरिक मामिला मात्र होइन, दक्षिण एसियाको भू–राजनीतिक समीकरणलाई समेत प्रभावित गर्ने मुद्दा हो। ट्रम्पको अडान र तालिबानको अस्वीकारबीच आगामी दिनमा यो विवाद अझ चर्किन सक्ने अनुमान गरिएको छ।











प्रतिक्रिया