काठमाडौँ ।
बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई विद्युतीय स्कूटर (ई–स्कूटर) प्रदान गरिने भएको छ ।
सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला समन्वय समितिको तर्फबाट उक्त पुरस्कार सार्वजनिक गरिएको हो । लिगको अन्तिम चरण असार २६ देखि साउन २ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा आयोजना हुनेछ । यही चरणपछि उत्कृष्ट खेलाडीहरूलाई स्कूटर प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रत्येक तौल समूहका विजेतालाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ । पहिलो स्थान हासिल गर्ने खेलाडीले १५, दोस्रोले १० र तेस्रो हुने दुई खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरस्कार पुरुष र महिलातर्फ पाँच–पाँच गरी जम्मा १० तौल समूहका लागि हुनेछ ।
लिग प्रणालीअनुसार खेलाडीले प्रदर्शनका आधारमा अंक प्राप्त गर्नेछन् । प्रथम स्थानले १०, दोस्रोले ७, तेस्रोले ३ अंक तथा प्रत्येक खेल जित्दा एक अंक प्रदान गरिनेछ । बर्षमा चार पटक सञ्चालन हुने लिग प्रतियोगिताबाट खेलाडीको वरीयता तय गरिने आयोजकले जनाएको छ ।
गत वर्ष भदौ, पुस र चालु वर्षको वैशाखमा सम्पन्न भएका तीन चरणको प्रतियोगितापछि अब चौथो र अन्तिम चरण धर्मस्थलीमा हुँदैछ । यस लिगको माध्यमबाट नेपालमा पहिलोपटक तेक्वान्दो खेलमा वरीयता प्रणाली पनि लागू गरिँदैछ ।











प्रतिक्रिया