लन्डन, (एजेन्सी) ।
युरोकप २०२४ को विजेता स्पेन आगामी सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्न लागेको फिफा विश्वकपमा सहभागी नहुन सक्ने सम्भावना बढेको छ ।
पछिल्ला राजनीतिक परिस्थितिहरूले स्पेनको सहभागिता अन्योलमा पारेको हो । स्पेनको प्रमुख खेलकुद पत्रिका मार्काका अनुसार, यदि इजरायल विश्वकपमा छनोट हुन्छ भने स्पेनले विश्वकप बहिष्कार गर्न सक्ने सम्भावना बलियो रहेको उल्लेख गरिएको छ ।
यसको प्रमुख कारण स्पेन सरकारले इजरायलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धको माग गर्दै आएको दवाबलाई लिइएको छ । गाजामा जारी द्वन्द्वलाई लिएर स्पेन सरकार स्पष्ट रूपमा आक्रोशित देखिएको छ ।
सत्तारूढ समाजवादी दलका प्रतिनिधि पाट्सी लोपेजको भनाइलाई उद्धृत गर्दै मार्काले लेखेको छ कि यदि इजरायललाई कारबाही नगरी विश्वकपमा सहभागी गराइयो भने स्पेनले आफ्ना खेलाडीहरूलाई प्रतियोगिताबाट फिर्ता बोलाउने निर्णय गर्न सक्नेछ ।
यस किसिमको निर्णय फुटबल इतिहासमै अभूतपूर्व र दुर्भाग्य हुनेछ । स्पेन सरकारसँग राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने वा रोक्ने संवैधानिक अधिकार छ । यदि सरकारले राजनीतिक निर्णयका आधारमा टोलीलाई विश्वकपमा खेलाएन भने त्यसको अन्तर्राष्ट्रिय फुटबलमा गहिरो असर पर्न सक्छ ।
यद्यपि, फिफाले यस्ता राजनीतिक हस्तक्षेपलाई गम्भीर रूपमा लिँदै आएको छ । अतीतमा पाकिस्तान र कंगोका फुटबल संघहरूलाई पनि सरकारले हस्तक्षेप गरेको भन्दै फिफाले निलम्बन गरिसकेको छ । त्यस्तै कदम स्पेनमाथि पनि लागू हुन सक्ने चेतावनी फिफाले संकेत गरिसकेको छ ।
अब प्रश्न उठ्नसक्छ, के स्पेन साँच्चिकै विश्वकप बहिष्कार गर्ने निर्णयमा पुग्ला वा फिफाको दवाबले झुक्ला ? यसको निष्कर्ष आगामी दिनमा आउने नै छ । तर, एउटा कुरा स्पष्ट छ, राजनीति र खेलकुदबीचको यो द्वन्द्वले विश्व फुटबललाई गम्भीर मोडमा पु¥याउन सक्छ ।
स्पेनले विश्वकप उपाधि सन् २०१० मा जितेको थियो । दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपको फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई १–० ले हराएर विश्व विजेता बन्न सफल भएको थियो । यसपछि विश्वकपका तीन संस्करण सम्पन्न हुँदा स्पेन क्वार्टरफाइनलसम्म पनि पुग्न सकेन । विश्वकपअन्तर्गत २०१४ मा समूह चरण तथा २०१८ र २०२२ मा अन्तिम १६ बाट बाहिरिनु परेको थियो ।











प्रतिक्रिया