केरलमा ‘ब्रेन इटिङ अमीबा’ संक्रमण : ६० भन्दा बढी संक्रमित, १८ जनाको मृत्यु


काठमाडौँ ।

भारतको केरल राज्यमा फेरि एक पटक ‘ब्रेन इटिङ अमीबा’ (निग्लेरिया फावलेरी) को संक्रमणबारे चर्चा बढेको छ। सेप्टेम्बरको मध्यसम्म ६० भन्दा बढी संक्रमित भेटिएका छन् जसमा कम्तीमा १८ जनाले ज्यान गुमाइसकेका छन्।

प्राइमरी अमीबिक मेनिङ्गोइन्सेफलाइटिस (PAM) भनिने यो दुर्लभ तर घातक रोग दूषित वा तातो पानीमा पौडी खेल्दा नाकमार्फत शरीरमा प्रवेश गर्छ। उच्च ज्वरो, टाउको दुखाइ, घाँटी दुख्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन्।

विपक्षी दलले महामारी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए पनि केरल सरकारले आवश्यक स्वास्थ्य सतर्कता अपनाइएको जनाएको छ। स्वास्थ्य विभागले दूषित पानीमा पौडी नखेल्न र स्वीमिङ पूलमा नियमित क्लोरिन प्रयोग गर्न आग्रह गरेको छ।

अध्ययनले यस रोगको मृत्यु दर झण्डै ९७% रहेको देखाएको छ।