झापामा अलैँचीको भाउ घट्यो, प्रतिमन ८१ देखि ९२ हजारमा कारोबार


काठमाडौं ।

नगदे बाली अलैँचीको बजार मूल्यमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा अहिले अलैँची प्रतिमन (४० किलो) गुणस्तरअनुसार रु ८१ हजारदेखि ९२ हजारमा कारोबार भइरहेको छ ।

सबैभन्दा उत्कृष्ट ‘बोल्ड’ अलैँची प्रतिमन रु ९२ हजारमा, सामान्य ‘चालु’ रु ८१ हजारमा र मध्यम ‘जेजे’ रु ८४ हजारमा बिक्री भइरहेको छ । भदौ पहिलो साता प्रतिमन रु ९४ हजारसम्म पुगेको भाउ हाल घटेको हो ।

दसैँ नजिकिँदै किसानले घरायसी खर्च टार्न अलैँची बजारमा ल्याउन थालेकाले मूल्य घटेको अध्यक्ष नेपालले बताए । अझै ठूलो मात्रामा अलैँची बजारमा आउने भएकाले मूल्यमा थप उतार–चढाव हुने अनुमान गरिएको छ ।

हाल नेपालका ४२ जिल्लामा करिब १७ हजार हेक्टरमा अलैँची खेती हुँदै आएको छ । वार्षिक उत्पादन करिब ८ हजार मेट्रिक टनमध्ये ९५ प्रतिशत निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षमा मात्र काँकडभिट्टा नाकाबाट करिब रु ७ अर्ब ६७ करोड बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।