आन्दोलनको क्षतिमा करिब २१ अर्बको बीमा दाबी, अझै बढ्ने


काठमाडौं ।

गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा देशभर ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारीदेखि निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको घटनाले निर्जीवन बीमा कम्पनीहरूमा अहिलेसम्म करिब २१ अर्ब रुपियाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्रँधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपियाँ बराबरको १ हजार ९८४ दाबी दर्ता भएका छन् ।

उक्त बीमा दाबीमध्ये १४ निर्जीवन बीमा र चारवटा लघु बीमा कम्पनी रहेका छन् । अहिले सबैभन्दा बढी दाबी रकम दि ओरियण्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ४० वटा बीमा पोलिसी बापत ५ अर्ब १४ करोड ७९ लाख रुपियाँ दाबी दर्ता भएको छ । सो कम्पनीमा नक्सालस्थित हिल्टन होटलको बीमा भएकाले रकम उच्च देखिएको प्राधिकरणले जनाएको छ ।

दोस्रो ठूलो दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड रुपियाँ परेको छ । यस कम्पनीले क्षति पुगेको भाटभटेनी सुपरमार्केटको बीमा गरेको कारण दाबी रकम उल्लेख्य देखिएको हो ।तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड रुपियाँ बराबरको दाबी दर्ता भएको छ। पोलिसी संख्याका आधारमा भने ३६६ दाबी दर्तासहित शिखर पहिलो स्थानमा छ ।

त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख, नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख, सानिमा जीआईसीमा ७८ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपियाँको दाबी परेको छ ।
यसैगरी प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख, नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख र लघु बीमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख, नेपाल माइक्रो इन्स्योरेन्स ः ५६ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रहेको छ ।

जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा मात्रै १ अर्ब १३ करोड ४० लाख रुपियाँ बराबरको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ । यसमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्समा ५० करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५ करोड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच करोड रुपियाँको दाबी दर्ता भएको छ ।

प्राधिकरणका अनुसार हाल दर्ता भएको सबै दाबी बीमितले दिएको प्रारम्भिक अनुमान हो । बीमा सर्वेयरले क्षतिको मूल्यांकन गरेपछि मात्र वास्तविक भुक्तानी योग्य रकम टुंगो लाग्नेछ ।आन्दोलनबाट उत्पन्न क्षतिबापतको ६५ प्रतिशत बीमा दाबी रकम नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्नेछ । बाँकी ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनीले नै तिर्नुपर्नेछ । तर, १० करोडभन्दा माथि ६ अर्बसम्मको दाबीमा भने बीमा कम्पनीले पूर्ण भुक्तानी गर्नुपर्ने प्रावधान छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका अनुसार यो तथ्यांक प्रारम्भिक मात्र हो र आगामी दिनमा अझै वृद्धि हुनसक्छ ।