लन्डन, (एजेन्सी)
युरोपियन च्याम्पियन्स लिग २०२५-२६ को नयाँ सिजनको आफ्नो पहिलो खेलमा जित्दै पेरिस सेन्ट जर्मेन (पीएसजी), बायर्न म्युनिख र लिभरपुलले विजयी सुरुवात गरेका छन् ।
बुधवार राति भएको खेलमा फ्रेन्च क्लब पीएसजीले इटालियन क्लब एटलान्टालाई ४–० गोलअन्तरले पराजित गरेको हो । लिग चरणको पहिलो खेलमै देखाएको प्रदर्शनले गत सिजन पाँच वटा उपाधि जितेको यो टोली यसपटक पनि उत्कृष्ट लयमा रहने संकेत देखिन्छ ।
पार्क डेस प्रिन्समा भएको खेलमा कप्तान माक्र्वीनहसले सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै, ३९औं मिनेटमा ख्विचा क्वारत्स्खेलियाले दोस्रो गोल थपे भने ५१औं मिनेटमा नुनो मेन्डेजले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।
इन्जुरी समयको अन्त्यतिर गोनकालो रामोसले चौथो गोल गर्दै पीएसजीलाई प्रभावशाली ४–० को जित दिलाए । लिगको पहिलो चरणमा पीएसजीको यो अहिलेसम्मकै सर्वश्रेष्ठ नतिजा हो ।
अर्को इटालियन क्लब इन्टर मिलानले भने डच क्लब आयाक्समाथि २–० गोलअन्तरको जित निकाल्यो । इन्टरलाई जित दिलाउन खेलमा भएको दुवै गोल मार्कुस थुरामले ४२औं र ४७औं मिनेटमा गरेका थिए । त्यसैगरी जर्मन फुटबल महारथी बायर्न म्युनिखले पनि नयाँ सिजनको पहिलो खेलमा प्रभावशाली प्रदर्शन गर्दै इंग्लिस प्रिमियर क्लब चेल्सीलाई ३–१ ले हरायो ।
एलियान्ज एरिनामा भएको खेलमा चेल्सीका डिफेन्डर ट्रेभोह चलोबाहले २०औं मिनेटमा आत्मघाती गोल गरेपछि बायर्नले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि २७औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै स्कोर २–० बनाए । यद्यपि दुई मिनेटमै चेल्सीका लागि कोले पाल्मरले गोल फर्काएका थिए । तर, खेलको ६३औं मिनेटमा सर्ज गेनाब्रीको पासमा केनले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाए । अन्तिम मिनेटमा चेल्सीका पाल्मरले दोस्रो गोल फर्काए पनि भिडियो एसिस्टेन्ट रेफ्रि “भार” द्वारा खारेज गरिएपछि खेलको अन्तिम नतिजा ३–१ नै कायम रह्यो
त्यस्तै अर्को महत्वपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मेड्रिडलाई ३–२ ले पराजित गर्दै जारी सिजनमा विजयी सुरुवात ग¥यो । एनफिल्ड रंगशालामा भएको खेलमा लिभरपुलले सुरुवातमै आक्रामक प्रदर्शन गर्दै ८ मिनेटभित्र दुई गोल ग¥यो । पहिलो गोल एन्ड्रयु रोबर्टसनले गरेका थिए । उक्त गोललाई सुरुमा आत्मघाती मानिए पनि पछि उनको नाममा दर्ता गरियो ।
त्यसपछि मोहमद सालाहले दोस्रो गोल गर्दै २–० को अग्रता दिलाए । तर, एट्लेटिकोका लागि मार्कोस लोरेन्टेले उत्कृष्ट कमब्याक प्रयास गर्दै पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफको ८१औं मिनेटमा गोल फर्काए । खेल २–२ को बराबरीमा पुगिसकेको अवस्थामा अन्तिम समयमा लिभरपुलले कर्नर किक पायो र त्यसमा कप्तान भर्जिल भान डाइकले हेडिङमार्फत निर्णायक गोल गर्दै टिमलाई ३–२ को रोमाञ्चक जित दिलाए ।











प्रतिक्रिया