ओस्कार अवार्डको दौडमा ‘एञ्जिला’


काठमाडौं।

एउटा साधारण युवती, जसले बल थाम्न मात्र होइन, सपनालाई पनि विपनामा परिणत गरिन । त्यही साहसी कथा बोल्ने फिल्म ‘एञ्जिला’ अब ओस्कार अवार्डको अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने बाटोमा छ ।

नेपाली महिला फुटबल टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यो प्रेरणादायी चलचित्रलाई नेपालस्थित अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले प्रतिष्ठित ९८औं एकेडेमी अवार्ड (ओस्कार) को इन्टरनेशनल फिचर फिल्म विधामा सिफारिस गरेको हो ।

छनोट समितिका अध्यक्ष विमल पौडेलका अनुसार,‘एञ्जिला’ फिल्मको कथावस्तु, निर्देशनको शिल्प, प्राविधिक उत्कृष्टता र भावनात्मक गहिराइ सबै पक्षबाट सशक्त रहेकोले सिफारिस गरिएको हो । “फिल्मले पात्रहरूको आत्मसंघर्षलाई यति कलात्मक तरिकाले प्रस्तुत गरेको छ कि दर्शक आफै त्यो यात्रा सँगै महसुस गर्छन्,” उनले भने ।

फिल्मको निर्देशन गरेका छन् मिलन चाम्स भन्छन,“मुख्य पात्रको भूमिका निभाएकी स्वयं एञ्जिला सुब्बा नै वास्तविक संघर्ष र भावना बोकेको उनको अभिनयले पर्दामा जीवन्तता थपेको छ ।

निर्माता प्रेमकुमार श्रेष्ठले, “यो फिल्मले खेल मात्र नभएर नेपाल र नेपाली महिलाको कथालाई ब्यक्त गरेको छ । यो गौरवको क्षण हो जहाँ एक खेलाडीको जीवनयात्रा सिनेमा भएर विश्वसामु उभिन लागेको छ।”

फिल्ममा एञ्जिलासँगै चर्चित कलाकारहरु दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ र बुद्धी तामाङको दमदार अभिनय पनि देख्न पाइन्छ । समीक्षात्मक र व्यावसायिक दुवै हिसाबले सफल रहेको यो फिल्मले नेपाली बक्स अफिसमा करिब ९ करोड रुपैयाँको कारोबार गर्दै राम्रो चर्चा पाएको थियो । ‘एञ्जिला’ ले अस्करको मन जित्छ वा जित्दैन त्यो समयले बताउला । तर, एउटा कुरा चाहिं के पक्का देखिन्छ भने नेपाली खेलाडीको एउटा साँचो कथा विश्वले सुन्न पाउनेछ ।