बंगलादेशको सुपर फोरको आस बाँकी


दुबई, (एजेन्सी)

बंगलादेशले एसीसी टी–२० एसिया कपमा अफगानिस्तानमाथि ८ रनले पन्छाउँदैं सुपर फोरको आस बाँकी राखेको छ । १ सय ५५ रनको लक्ष्यको जवाफमा अफगानिस्तान १ सय ४६ रनमा अल आउट भएपछि बंगलादेशले जित निकालेको हो ।

अफगानिस्तानलाई अन्तिम १२ बलमा २७ रन चाहिँदा अनुभवी बलर मुश्ताफिजुर रहमान १९ औं ओभर बलिंग गर्न आएका थिए । राशिद खानले पहिलो बलमा चौका हानेपनि दोस्रो बलमा तस्किन अहमदबाट राशिद खानलाई २० रनमा क्याच गराए । यही नै अफगानिस्तानको हार कोरिएको थियो । बंगलादेशका मुश्ताफिजुर रहमानले सर्वाधिक ३, रिसाद हसन, नासुम अहमद र तस्किन अहमदले २–२ विकेट लिए ।

त्यसअघि आबुधावीमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५४ रन बनाएको थियो । बंगलादेशका ओपनर तान्जिद हसनले सर्वाधिक ५२ रन बनाए । अर्का ओपनर सैफ हसनले ३० रन बनाए ।

तान्जिद र सैफले ६.४ ओभरमै ६३ रनको साझेदारी गरेका थिए । तर पावरप्लेपछी अफगानिस्तानको स्पिनसामु भने राम्रो प्रदर्शन गर्न सकेन । अफगानिस्तानका राशिद खान र नुर अहमदले २–२ विकेट लिए ।

समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान तीनै टोलीको सुपर फोरमा पुग्ने मौका बराबर छ । श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।

उक्त खेलमा श्रीलंका विजयी भएमा अपराजित रहँदै समूह विजेताको रुपमा सुपर फोरमा पुग्नेछ । श्रीलंका विजयी हुँदा बंगलादेश पनि ४ अंकका साथ सुपर फोरमा पुग्नेछ । तर, अफगानिस्तान विजयी भएमा भने श्रीलंका, बंगलादेश र अफगानिस्तानको समान ४–४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहने दुई टोली सुपर फोरमा पुग्नेछन् । समूह ए बाट भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगि सकेको छ ।