निजी निवासमा तोडफोड गर्ने उपर कारबाहीको माग


उदयपुर । 

उदयपुरको त्रियुगा नगरपालिकाका पूर्व नगर प्रमुख बलदेव चौधरीले आफ्नो निजी निवासमा भदौ २४ गते जेन जे आन्दोलनका नाममा गैर जेन जेको संलग्तामा तोडफोड र आगजनी भएकोले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका पूर्व मेयर चौधरीले आफ्नो बुवा आमाले कमाएको सम्पत्तिबाट बनेको काठको घर बजार क्षेत्रकै सुन्दर घरका रुपमा रहेको भए पनि आन्दोलनकारीहरुले विना कारण तोडफोड गरेको र तोडफोड तथा आगजनीबाट करिब १ करोड ९७ लाख बराबरको क्षति भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

श्रीमतीको, विवाहित ठूली छोरीको, कान्छी छोरीको सुनका गहना करिब ४० तोला तथा चाँदीका गहना ६० तोलाभन्दाबढी लुटेर लगेको, लाउने कपडा, भाडा वर्तन , सोफासेट लगायतका सामानहरु  तोडफोड गरेर आगो लगाएको अवस्थामा रहेको र घरको पर्खाल समेत पूर्ण रुपमा भत्काएर ध्वस्त पारेको उनले बताए।

आन्दोलनका समयमा आफू काम विशेषले काठमाडौँमा  रहेको र मंगलबार साँझमात्र गाईघाट आएको जानकारी दिंदै आफूले त्रियुगा नगरपालिकाको मेयर रहँदा र नरहँदा पनि उदयपुरको विकासकालागि , उदयपुरका जनताको रोजगारीकालागि निरन्तर सक्रिय भएर लागि रहेको र भविष्यमा पनि उदयपुरकै जनताकालगि केही गरौँ भनेर खटिरहने बताए ।

आफू पदमा रहँदा वा नरहँदा पनि भ्रष्टाचारका विरुद्धमा, सुशासनका पक्षमा लागेको, उदयपुर बारको दुई पटक अध्यक्ष भएर असहायहरुकालागि निशुल्क कानुनी लडाई लडेको, । दुःखी पीडितहरुका पक्षमा आवाज उठाएको । विभिन्न कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वय गरेर उदयपुरका करिब ५० हजार कृषकहरुकालागि रोजगार मूलक कार्यक्रम ल्याउन लागेको समयमा आफूमाथि नक्कली जेन जेहरुले तोडफोड तथा आगजनी गरेकोले सरकारले दोषीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न पत्रकार सम्मेलन मार्फत माग गरेका छन् ।