काठमाडौं ।
सन् २०२६ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म जापानको आइचि र नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट ४ सय ३४ खेलाडी सहभागी हुने भएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालले ३२ खेलमा सहभागिता जनाउने गरी खेलाडीको नामावली दर्ता प्रक्रिया पूरा गरेको जनाएको हो । आयोजक समितिले तोकेको समयसीमाअनुसार सन् २०२५ जुन ३० भित्र नेपालले प्रारम्भिक दर्ता प्रक्रिया सम्पन्न गरेको जनाइएको छ।
खेलको छनोट विभिन्न खेल संघहरूले पठाएका प्रस्तावका आधारमा गरिएको हो। प्रारम्भिक रूपमा ३० खेल संघहरूको सहभागिता सुनिश्चित भए पनि पदक सम्भावित तथा लोकप्रिय खेलको रूपमा रहेको फुटबल र तेक्वान्दोलाई समेत समेट्ने उद्देश्यले पुनः समन्वय गरिएको एनओसीले जनाएको छ।
खेलाडीको संख्याको अन्तिम दर्ता मिति सेप्टेम्बर १६ रहेकोमा नेपाल ओलम्पिक कमिटीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक विवरणका लागि पटक–पटक सम्पर्क गरे पनि अपेक्षित जानकारी नपाएको स्पष्ट पारेको छ । त्यसपछि कमिटीले सम्बन्धित खेल संघहरूसँग समन्वय गरी प्राप्त विवरणका आधारमा अन्तिम सूची तयार गरेको हो।
ती संघहरूले पठाएको खेलाडी संख्याको आधारमा सो दुई खेल पनि नेपालबाट एशियाडका लागि थप गरेर पठाइएको छ। एथलेटिक्स संघबाट कुनै जानकारी नआएकाले विगतको सहभागिता हेरेर नेपाल ओलम्पिक कमिटीले एक पुरुष र एक महिला गरी दुई जना म्याराथन खेलाडीको नाम दर्ता गरेको छ।
यससँगै २० औँ एसियाडमा नेपालको तर्फबाट ३२ खेलका २३९ पुरुष र १९५ महिला गरी कुल ४३४ जना खेलाडीको सहभागिता दर्ता गरिएको छ। नेपाल ओलम्पिक कमिटीले सम्पूर्ण सरोकारवालालाई यसबारे जानकारी गराइसकेको बताइएको छ।
थप गरिएका फुटबल र तेक्वान्दोसहित नेपालबाट २० औँ एशियाडका लागि दर्ता भएका खेल अन्य खेलमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ-स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्ट्स क्लाइम्बिङ्ग, स्कावस, पौडी, टेनिस, भलिबल, भारतोलन, उसु, टेबलटेनिस, कुस्ती र सफ्ट टेनिस रहेका छन्।











प्रतिक्रिया