एन्फालाई एएफसीको १० हजार डलर जरिवाना 


काठमाडौं । 

एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको अनुशासन तथा आचारसंहिता कमिटीले सन् २०२६ को एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगिताबाट नेपालले एकपक्षीय रूपमा नाम फिर्ता लिएपछि यो कारबाही गरेको हो । साथसाथै, आगामी एएफसी फुटसल च्याम्पियनशिपमा नेपाललाई सहभागी हुन नपाउने निर्णय पनि गरिएको छ । कमिटीको अगस्ट २१ मा बसेको बैठकमा यो निर्णय लिइएको हो । 

कमिटीका अनुसार एन्फाले छनोट प्रतियोगिता सुरु हुन १०६ दिनअघि नै सहभागिता नलिने निर्णय एएफसीलाई जानकारी गराएको थियो । यो कार्य एएफसीको नियमावलीको धारा ६.७ विपरीत भएकाले एन्फालाई कारबाही गरिएको जनाइएको छ । निर्णय अनुसार, एन्फाले तोकिएको १० हजार डलर जरिवाना सूचना प्राप्त भएको ३० दिनभित्र तिर्नुपर्नेछ । साथै, अर्को संस्करणको फुटसल प्रतियोगितामा नेपालले सहभागी हुन नपाउने पनि स्पष्ट गरिएको छ । एन्फा स्रोतका अनुसार सञ्चालनमा देखिएको चरम लापरबाहीकै कारण यो कारबाही भएको बताएका छन् ।