यू–१६ लिग र ए डिभिजनको टुंगो लागेन


काठमाडौ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१६ लिग फुटबल प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ ।
संघले प्रतियोगितामा सहभागी क्लबहरूलाई पत्र पठाउँदै लिग स्थगित भएको जानकारी दिएको हो । एन्फाले यू–१६ लिगसहित पुसमा प्रस्तावित सहिद स्मारक ए डिभिजन लिगबारे मंगलबारका लागि तय गरेको बैठक पनि स्थगित गरेको छ ।

एन्फाका अनुसार प्राविधिक कारण देखाउँदै बैठकहरू अर्को सूचना नभएसम्मका लागि रोकिएको बताए ।
यसअघि जेनजी आन्दोलनकै क्रममा यू–१६ लिग स्थगित भएको थियो । लिग पुनः सञ्चालन गर्न केही समय आवश्यक पर्ने क्लब प्रतिनिधिहरूले बताएका थिए । उनीहरूले बैठक स्थगनसम्बन्धी आधिकारिक पत्र पनि माग गरेका थिए । जसअनुसार एन्फाले सोमबार यू–१६ लिगबारे पत्र पठाएको र मंगलबार ए डिभिजन लिग सम्बन्धी पत्र पठाउने प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

यद्यपि एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, सहायक महासचिव बद्री भट्टराई, केन्द्रीय सदस्यहरू पुरुषोत्तम थापा र विकासनारायण श्रेष्ठ तथा क्लबका प्रतिनिधिबीच अनौपचारिक छलफल भएको थियो । उक्त छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था र प्रतियोगिताको अनिश्चितता बारे चर्चा भएको सहभागी एक क्लब अध्यक्षले बताए ।

अनौपचारिक छलफलमा क्लबहरूले स्थगन पत्रसँगै दशैंअघि पुराना बक्यौता भुक्तानी गर्न माग गरेका छन् । यसैबीच, पुसदेखि सुरु गर्ने तयारीमा रहेको ए डिभिजन लिग देशभरका १४ जिल्लामा सञ्चालन गर्ने प्रस्तावसहित एन्फाले क्लबहरूसँग छलफल अघि बढाएको थियो। तर, पछिल्लो राजनीतिक अस्थिरताको कारण मंगलवार गर्ने भनिएको बैठक स्थगित गर्नुपरेको प्रवक्ता शाहले बताए ।