यस सिजनको यूईएफए च्याम्पियन्स लिग सुरु

470
Shares

१८९ खेल हुने

काठमाडौं । 

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको २०२५–२६ सिजन मंगलवार रातिबाट सुरु भएको छ । यूईएफएले प्रतियोगिताको ढाँचा पुनःसंरचना गरेपछिको यो दोस्रो सिजन हो, जसमा कुल ३६ टोली मुख्य समूह चरणमा प्रतिस्पर्धा गर्दैछन् ।

मंगलवार सुरु भएको यो सिजनको विजेता २०२६ को मे ३० मा हंगेरीको राजधानी बुदापेस्टस्थित पुस्कास एरिनामा हुने फाइनल खेलपछि टुंगो लाग्नेछ । यस पटकको च्याम्पियन्स लिगमा सहभागी टोलीहरू प्रारम्भिक चरणबाट छनोट गरिएको हो ।

यूईएफएका ५५ सदस्य राष्ट्रहरूमध्ये लिचेस्टाइन र रुसबाहेक ५३ देशका ८२ टोलीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए । लिचेस्टाइनमा घरेलु लिग नहुँदा त्यहाँबाट टोली सहभागी हुने कुरै भएन । रुसी क्लबको मामिलामा रुस देश यूईएफएको प्रतिबन्धका कारण प्रतियोगिताबाट बाहिर रहेको छ ।

प्रारम्भिक छनोटपछि उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू समूह चरणमा सहभागी हुने ३६ टोलीको सूचीमा परेका छन् । टोली छनोट यूईएफएको कोफिसियन्ट प्रणालीमार्फत तय गरिएको हो । जसमा देशको समग्र फुटबल प्रदर्शनको औसत मूल्यांकन गरिन्छ । त्यसअनुसार, शीर्ष चार देशका लिगबाट चार÷चार टोली, पाँचौं स्थानको देशबाट तीन, छैटौं स्थानबाट दुई टोलीले सिधै स्थान पाउँछन् ।

यस्तै, सातौँदेखि दसौँ स्थानसम्मका देशका लिग विजेता, युरोपा लिगको साविक विजेता र कोफिसियन्टमा अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका दुई देशले थप एक÷एक टोली पठाउन पाउँछन् । बाँकी स्थान तीन चरणको छनोट र प्लेअफबाट टुंगो लगाइन्छ ।

यो सिजनमा सबैभन्दा धेरै टोली सहभागी गराएको देश इंग्ल्यान्ड हो । जहाँबाट कुल ६ टोली समूह चरणमा पुगेका छन् । टोटनह्यामले अघिल्लो सिजनको युरोपा लिग जितेर सिधै स्थान पाएपछि पाँच टोली पुगेका थिए भने कोफिसियन्टमा अग्रस्थानमा रहेकोले थप एक टोली छनोट भएपछि ६ इंग्लिस क्लबहरू पुगेका हुन् । यसैगरी स्पेनबाट कोफिसियन्टका आधारमा ५ टोली प्रतियोगितामा सहभागी छन् ।

सबैभन्दा सफल क्लब रियल मेड्रिड

सन् १९५५ मा सुरु भएको युरोपियन कप (हालको च्याम्पियन्स लिग) मा सबैभन्दा सफल क्लब रियल मेड्रिड हो । रियल मेड्रिडले पहिलो पाँच संस्करण (१९५५|५६ देखि १९५९|६०) लगातार जितेर इतिहास रचेको थियो । यसपछि आधुनिक युगमा रियलले पछिल्लो पटक २०१५|१६ देखि २०१७|१८ सम्म लगातार तीन पटक उपाधि जितेको थियो ।

यसैगरी एसी मिलानले १९८८|८९ र १९८९|९० मा लगातार दुई सिजन उपाधि जितेको थियो । त्यसबाहेक बायर्न म्युनिख, लिभरपुल, नटिङ्गम फरेस्ट, आयाक्स, इन्टर मिलान र बेनफिका जस्ता क्लबहरूले पनि लगातार च्याम्पियन बन्ने उपलब्धि हासिल गरेका छन् । यदि, यसपटक डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले उपाधि रक्षा गरेमा आफूलाई ती महान क्लबहरूसँग उभ्याउनेछ ।

सिजनभर कुल १ सय ८९ खेल खेलिने छन् । पीएसजीको लगातार उपाधि जित्ने प्रयास होस् या नयाँ च्याम्पियनको उदय, फुटबल प्रेमीहरूका लागि यो सिजन विशेष महत्वको हुने निश्चित छ ।

समूह चरणमा सहभागिता हुने विभिन्न १६ देशका ३६ टोलीहरू :

६–इंग्ल्यान्डबाट लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सेनल, न्युक्यासल र टोटनह्याम ।
५– स्पेनबाट बार्सिलोना, रियल मेड्रिड, एट्लेटिको मेड्रिड, एथ्लेटिक बिल्बाओ र भिया रियाल ।
४–जर्मनीबाट बायर्न म्युनिख, बायर लेभरकुसेन, इन्ट्राक्ट फ्र्र्यान्कफर्ट र बोरुसिया डर्टमण्ड
–इटालीबाट नापोली, इन्टर मिलान, युभेन्टस र एट्लान्टा

३–फ्रान्सबाट पेरिस सेन्ट–जर्मेन (पीएसजी), मार्सेली र मोनाको ।
(पीएसजी गत संस्करणको विजेता टोली हो ।)
२–नेदरल्यान्ड्सबाट पीएसभी आइन्डहोभन र आयाक्स
–पोर्चुगलबाट बेन्फिका र स्पोर्टिङ सीपी
–बेल्जियमबाट युनियन सेन्ट जिलोइस र क्लब ब्रुगे
१–टर्कीबाट गालाटासरे, चेक गणतन्त्रबाट स्लाभिया प्राहा, ग्रीसबाट ओलम्पियाकोस, डेनमार्कबाट एफसी कोपनहेगन, नर्वेबाट बोदो ग्लिम्ट, साइप्रसबाट पाफोस, कजाख्स्तानबाट काइराट अल्माटी र अजरबैजानबाट काराबाग ।