लन्डन, (एजेन्सी)
हिस्ट्री मेकर उपनामले चिनिने अर्मान्ड दुप्लान्टीसले १४ औं पटक विश्व रेकर्ड राखेका छन् ।
सोमबार जापानमा जारी वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा स्विडिश सुपरस्टारले पोल भल्टमा रेकर्डसहित विश्व उपाधि जितेका हुन् । यो उनको लगातार तेस्रो विश्व उपाधि हो । साथै उनले २०२५ मा चौथो पटक विश्व रेकर्ड राखे ।
२५ वर्षीय दुप्लान्टीसले टोक्योको रंगशालामा ६.३० मिटर उँचाइ पार गरेका हुन् । योसँगैं उनले पछिल्ला आठ ग्लोबल मेन्स पोल भल्टमा स्वर्ण पदक जिते । उनले ओलम्पिकमा दुई पटक स्वर्ण जितेका छन् ।

अमेरिकाकी मेलिसा वल्र्ड च्याम्पियन
अमेरिकाकी मेलिसा जेफरसन वूदनले जापानमा भइरहेको वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । मेलिसा वुमेन्स १ सय मिटर दौड १०.६१ सेकेण्डमा पूरा गर्दै पहिलो भएकी हुन् । यो चौथो छिटो समय रहेको जनाएको छ । दौड हुँदा उनलाई कसैले पनि पछ्याउन सकेका थिएनन् ।
जितपछि खुशीको आँसु झार्दैं मेलिसाले खुशीयाली मनाएकी थिइन् । उनले अहिलेसम्म कुनै ओलम्पिक र विश्व च्याम्पियनसिपमा कुनै स्वर्ण जित्न सकेकी थिइनन् । उनले बीबीसीलाई बताइन्—म १०० मिटरमा कहिल्यै वल्र्ड च्याम्पियन वा ओलम्पिक च्याम्पियन बन्न सकेकी थिइन ।
दोस्रो स्थानमा जमैकाकी टिना क्लेटन रहिन् । उनको समय १०.७६ रहेको थियो । तर, पेरिस ओलम्पिकमा स्वर्ण जितेकी सेन्ट लुसियाकी जुलियन अल्फ्रेदले १०.८४ सेकेण्ड समयसँगैं तेस्रो स्थानमा चित्त बुझाइन् ।
यस्तै, गत २०२३ की विजेता अमेरिकी धाविका शाकारी रिचार्डसन पाँचौं स्थानमा रहिन् । उनको समय १०.९४ सेकेण्ड थियो । यसैगरी लिजेन्ड धाविका जमैकाकी शेली एन फ्रेजर प्राइस ११.०३ सेकेण्डसँगैं छैटो स्थानमा रहिन् । ३८ वर्षीया शेलीको यो अन्तिम ठूलो प्रतियोगिता हो ।











प्रतिक्रिया