देशको आर्थिक एवम् वित्तीय स्थिति सकारात्मक


काठमाडौं।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना (साउन) मसान्तसम्ममा देशको कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो २० अर्ब ३ करोड बराबर हो। सो सञ्चिति १६.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले जनाएअनुसार असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको बैंकको सञ्चिति साउनमा ४ प्रतिशत बढेर २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चिति भने १२ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ। यसमा भारतीय मुद्राको हिस्सा २३.४ प्रतिशत रहेको छ।

साउन मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ४५.९ प्रतिशत, कुल आयातसँगको अनुपात १३८.३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३६ प्रतिशत रहेको छ। अघिल्लो महिना यी अनुपात क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत थिए।

व्यापार घाटा वृद्धि

पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भई ११९ अर्ब ११ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १६.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो । कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७
प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो ।

शोधनान्तर स्थिति र चालू खाता सकारात्मक

चालु खाता ७८ अर्ब १४ करोड रुपियाँ बचतमा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता ३३ अर्ब ८ करोड बचतमा थियो। अमेरिकी डलरमा यो वर्ष ५६ करोड बचतमा छ भने गत वर्ष २५ करोड थियो।
त्यस्तै, शोधनान्तर स्थिति पनि सकारात्मक देखिएको छ। यस अवधिमा ८९ अर्ब ३० करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब ९० करोड मात्रै थियो। अमेरिकी डलरमा हेर्दा गत वर्ष ३१ करोडको तुलनामा यसवर्ष ६४ करोडले बचतमा छ।

मुद्रास्फीति कम

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित भएको छ । अघिल्लो
वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो । विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ, जबकि अघिल्लो वर्ष यस्तै अवधिमा यो १२.५ प्रतिशतले बढेको थियो ।

त्यस्तै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क
१०.६० प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८४ प्रतिशत, फर्निसिब तथा घरायसी
उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहकोवार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९७ प्रतिशत,
गैर–मदिराजन्य पेय पदार्थको ४.६४ प्रतिशत र फलफूलको ३.०१ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, मरमसलाको ४.८१ प्रतिशत र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको छ ।

त्यस्तै प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.८४ प्रतिशत, मधेश प्रदेशको १.८६ प्रतिशत, बागमती प्रदेशको १.६७ प्रतिशत, गण्डकी प्रदेशको१.०३ प्रतिशत, लुम्बिनी प्रदेशको १.३५ प्रतिशत, कर्णाली प्रदेशको १.७९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.३१ प्रतिशत रहेको छ । साथै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६ प्रतिशत, तराईको १.३३ प्रतिशत, पहाडको १.५६ प्रतिशत र हिमालको २.५९ प्रतिशत रहेको छ ।

कर्जा र निक्षेप घट्यो
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ। वार्षिक विन्दुगत आधारमा भने निक्षेप १२.५ प्रतिशतले र कर्जा ८ प्रतिशतले वृद्धि भएको छ।
अन्तरबैंक कारोबारको औसत ब्याजदर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर २.६५ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरुको निक्षेपमा औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जामा ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

रेमिट्यान्स पौने २ खर्ब
साउनमा रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार साउन महिनामा १ खर्ब ७७ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही महिनामा १ खर्ब ३६ अर्ब रुपियाँ मात्र भित्रिएको थियो । यसरी तुलना गर्दा यो अवधिमा रेमिट्यान्स प्रवाह २९.९ प्रतिशतले वृद्धि भएको छ । यसँगै लगातार ३० महिनादेखि प्रत्येक महिनामा एक खर्ब रुपियाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । रेमिट्यान्स भित्रिने मात्रै होइन बाहिरिने रकम पनि बढेको छ । साउन महिनामा १ अर्ब २५ करोड रुपियाँ बाहिरिएको छ, जुन गत वर्षको साउनमा बाहिरिएको ४३ करोड रुपियाँभन्दा धेरै हो ।

यसैगरी वैदेशिक रोजगारीका लागि जाने कामदारको संख्यामा साउन महिनामा ६८ हजार ५ सय ७५ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । यो संख्या गत वर्षको यही महिनामा श्रम स्वीकृति लिएका ५९ हजार ५ सय ७५ भन्दा करिब १४ प्रतिशत बढी हो ।