काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारलाई ९ बुँदे आह्वान गरेको छ। आयोगले प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार र पीडित परिवारलाई राहतमा विशेष ध्यान दिन आग्रह गरेको छ।
साथै, देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाको सहभागितामा आगामी कार्य अघि बढाउनुपर्नेमा जोड दिएको छ।
आयोगले मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट राख्न आग्रह गर्दै मुलुकमा भइरहेको घटनाक्रमलाई नजिकैबाट नियालिरहेको जनाएको छ।
आयोगको ९ बुँदे आह्वान
– जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन,
– देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन,
– अन्योलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्न,
– आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न तथा द्वन्द्व हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन,
– आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न,
– विकसित परिस्थितिमा आम सर्वसाधारणको मानव अधिकारको उपभोगमा आइपर्ने अवरोधहरूको पहिचान गरी त्यस्ता अवरोधहरू हटाउन प्रभावकारी कार्य गर्न,
– सङ्कटको अवस्थामा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गरी दैनिक उपभोग्य सामग्री र सेवालाई सुचारु रूपले सञ्चालन गर्न तथा आम नागरिकहरूको आवतजावतलाई सहज बनाउन,
– प्रदर्शनको क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिन,
– सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै संघसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्न ।











प्रतिक्रिया