दाजुभाइले एकअर्काविरुद्ध गोल गरे


लन्डन, (एजेन्सी)

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा दुई दाजुभाइले एक अर्कोविरुद्ध खेल्दै गोल गरेका छन् । यो सिरी ए फुटबलमा ऐतिहासिक क्षण भएको बताइएको छ । यस ऐतिहासिक क्षणमा युभेन्टसले इन्टर मिलानमाथि ४–३ को रोमाञ्चक जित हासिल गर्दा एक भाइको हार र एक भाइको जित भयो ।

युभेन्टसको जितमा लोयद केल्ली, केनान यिल्दीज, युलियन थुराम र भासिलिजे आद्जिकले गोल गरे । इन्टरका लागि हाकान चालानोलुले दुई तथा मार्कस थुरामले एक गोल गरे । यस खेलमा युभेन्टसका लागि केफ्रेन थुराम र इन्टरका लागि मार्कस थुरामले गोल गरेका थिए । लगातार तेस्रो निकालेको युभेन्टसले यसअघि पार्मालाई २–० र जेनोवालाई १–० ले हराएको थियो ।

सिरी ए फुटबलमा दाजुभाइले एकै खेलमा गोल गरेको यो तेस्रो अवसर हो । सन् १९४९ को सिरी ए मा इस्टभान नएर्स र फेरेन्क नएर्सले इन्टरबाट खेलेर लाजियोविरुद्ध गोल गरेका थिए । यस्तै, २०२० मा लोरेन्जो र रोबेर्टो इन्सिग्नेले बेनेभेन्टोका लागि नापोलीविरुद्ध गोल गरेका थिए ।
तर, यी दुबै अवसरमा एकै क्लबमा खेलेका दाजुभाइले प्रतिद्वन्द्वीविरुद्ध गोल गरेका थिए । यसपटक दाजुभाइले एक अर्काविरुद्ध गोल गरेको भने पहिलो अवसर हो । यस ऐतिहासिक खेलमा थुरामका बुबा दर्शक बनेका थिए ।

पहिलो हाफमा युभेन्टसले २–१ को अग्रता बनाएको थियो । खेलको ७६औं मिनेटमा थुरामको गोलमार्फत इन्टर ३–२ ले अगाडि बढेको थियो । तर, निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा थुरामले युभेन्टसलाई बराबरीमा ल्याए । इन्जुरी समयमा आदिजकले निर्णायक गोल गरेका थिए ।

लिभरपुलको जित

प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा लिभरपुलले कठिन जित निकालेको छ । लिभरपुलले १० खेलाडीमा सीमित रहेको बर्नलीलाई हराउन कसरत गर्नु परेको थियो । अन्तिममा इन्जुरी समयमा पेनाल्टी प्राप्त गरेपछि मोहम्मद सालाहले गोल गरेका थिए । यही एक गोलले लिभरपुलको जित भएको थियो । योसँगैं लिभरपुल १२ अंकसहित शीर्ष स्थानमा यथावतै रहेको छ ।