काठमाडौँ।
सागर डिष्टिलरी लिमिटेडले आइतबारदेखि साधारण शेयर (आइपिओ) सार्वजनिक निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।
कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ बराबरको जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको छ।
क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले सागर डिष्टिलरीलाई ‘बी प्लस’ रेटिङ दिएको छ। यसले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन्।
शेयर निष्कासन असोज २ गतेसम्म बन्द हुन सक्नेछ भने त्यतिबेला पूरा आवेदन नपरेमा असोज १३ गतेसम्म खुला रहने मुक्तिनाथ क्यापिटलले जनाएको छ।
सागर डिष्टिलरीको रजिष्टर्ड कार्यालय नवलपरासीको देवचुली नगरपालिका–१ मा र कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका–१ मा रहेको छ।











प्रतिक्रिया