काठमाडौं।
प्रदर्शनका क्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लाहान शाखामा ११ करोड रुपियाँ बराबरको क्षति भएको छ । ८१४ टन चामल, ३२२ टन चिनी, ५ टन धान र करिब एक लाख जुटका बोरा लुटिएको, साथै संरचना र सवारी साधनमा आगजनी भएको कम्पनीले जनाएको छ ।
यसैबीच कम्पनीले आज सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार सुपथ मूल्य पसल बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ र्। कम्पनीले ४९ पालिका र ४५ जिल्लामा गरी १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । गत वर्ष ६३ स्थानमा मात्रै पसल सञ्चालन गरिएको थियो । कम्पनीले अनलाइनमार्फत सामान खरिद गर्न सकिने व्यवस्था मिलाएको छ। न्यूनतम ५ हजार रुपियाँ बराबरको सामान खरिद गरेमा घरमै डेलिभरी गरिनेछ । यसका लागि कुनै शुल्क लाग्ने छैन तर सुविधा काठमाडौं उपत्यकाभित्र मात्रै उपलब्ध हुनेछ । अनलाइन अर्डरका लागि छुट्टै पोर्टलसमेत सञ्चालनमा ल्याइएको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनुभयो ।
यस पटक दुर्गम क्षेत्रमा बढी छुट दिने गरी व्यवस्था मिलाइएको छ । कर्णाली प्रदेशमा उत्पादन भएका फापर, सिमी, कोदो, मार्सी चामललगायत वस्तुमा विशेष छुट हुनेछ । यी उत्पादनमा प्रतिकिलो १० रुपियाँसम्म छुट दिने तयारी गरिएको छ ।सुपथ मूल्य पसलका लागि सरकारले २५ हजार क्विन्टल सामानको अनुमान गरे पनि कम्पनीले सोभन्दा बढी बिक्री गर्ने तयारी गरेको छ । हाल कम्पनीसँग ३ लाख ९ हजार क्विन्टलभन्दा बढी दाल, चिनी, चामल र तेलको स्टक रहेको र ४५ हजार क्विन्टलले नै बजारको माग धान्ने अपेक्षा गरिएको छ । चामलमा ५–१० रुपियाँसम्म, चिनी, गहुँ, दाल र गेडागुडीमा ५ रुपियाँ, खानेतेल, चिउरा, मैदा र आँटामा ७ रुपियाँ र चिया, धनियाँ, जिरा, बासमती तथा मार्सी चामलमा १० रुपियाँसम्म छुट हुनेछ ।
दशैंमा वर्षेनी बिक्री गर्दै आएको खसीबोका र च्याङ्ग्राको बिक्रीबारे यस वर्ष अन्योल रहेको कम्पनीले जनाएको छ । करिब १५ सय खसी र ३ सय च्याङ्ग्रा ल्याउने प्रारम्भिक तयारी भए पनि जेन–जी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेको भन्दै मन्त्रालयको निर्देशनअनुसार मात्र निर्णय हुने बताइएको छ । खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेशनले पनि भदौ ३० गतेदेखि उपत्यका र विभिन्न जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । साल्ट ट्रेडिङले नुन र चिनीमा २ रुपैयाँ, तेल, चिउरा, मैदा र दालमा ७ रुपियाँ छुट दिने व्यवस्था गरेको छ ।
सुपथ मूल्य पसल काठमाडौं उपत्यकामा थापाथली, रामशाह पथ, नख्खु, दक्षिणकाली, कालिमाटी, सतुङगल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जसहितका स्थानमा पसल सञ्चालन हुनेछ ।उपत्यकाबाहिर धनगढी, अत्तरिया, टीकापुर, बेलौरी, दीपायल, सुर्खेत, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, त्रिशूली, पोखरा, बाग्लुङ, भैरहवा, कृष्णनगर, दाङ, डडेलधुरालगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । खाद्य कम्पनीले झापा, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, रसुवा, कास्की, गोरखा, लमजुङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, दैलेख, जुम्ला, मुगु, कञ्चनपुर, अछाम, बाजुरा, बैतडी, सुर्खेतलगायत ४५ जिल्लामा सुपथ मूल्य पसल खोल्ने जनाएको छ । सुपथ मूल्य आगामी छठ पर्वसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।











प्रतिक्रिया