बागलुङ जिल्लाको सदरमुकामदेखि दक्षिणतर्फ कालीगण्डकी र काठे खोलाको दोभानमाथिको टापुमा रहेको छ बागलुङ कालिका मन्दिर । वनभित्र रहेको कालिका भगवतीको यो मन्दिर बागलुङ नगरपालिका–२ मा अवस्थित छ । बागलुङ कालिका भगवतीको मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । यो मन्दिर बागलुङ जिल्लाको पहिचान हुनुका साथै यहाँ पूजा–अर्चना गर्दा मनोकाङ्क्षा पुग्ने विश्वास पनि गरिन्छ । कालिका भगवतीको मन्दिर धार्मिक, सांस्कृतिक, ऐतिहासिक मान्यता बोकेको आस्थाको प्रतीक हो । यस मन्दिरमा विवाह, व्रतबन्ध गर्नको लागि पनि महत्वपूर्ण स्थान मानिन्छ ।
मन्दिरमा बिहान ३ बजे कालीगण्डकीमा स्नान गरी त्यहीँको जलले अभिषेक गराई देवीको नित्य पूजा गरिन्छ । मन्दिरभित्र नित्य पूजा सकेपछि पुजारीले चण्डीकालीको स्थानमा धूप हालेपछि मन्दिरबाहिर पूर्वपट्टि रहेको कौडेलीमाईको पूजा गरिन्छ । त्यसपछि ५ बजेबाट सर्वसाधारणलाई दर्शनका लागि प्रवेशद्वार खुल्ला गरिन्छ । साँझको ५ बजे सन्ध्याकालीन आरती गरी ८ बजे मन्दिर बन्द गरिन्छ ।
बाइसे, चौबीसे राज्यकालमा बागलुङ कालिकाको इतिहास हेर्दा मल्लकाल र सेनवंश कालको इतिहास आउँछ । त्यति बेला नेपालको दक्षिणी भूभाग÷हिमालयको दक्षिणी भूभागमा सेनवंशहरुको आधिपत्य भएको र उत्तरी भेगमा मल्लहरूको आधिपत्य रहेको पाइन्छ । पहाडी भेग पर्वतमा पर्वतमा रहेका थिए भने तराई भेगमा सेनवंशको इतिहास थियो । किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण सिंह मल्लले वि.सं. १५९० मा राज्यारोहण गरेका थिए । पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी राजकुमारी विश्रवादेवी र पर्वतका राजा प्रतापी नारायण सिंह मल्लका बीचमा विवाह सम्बन्ध भएको इतिहास पाइन्छ । विवाहपछि माइतीघर पाल्पाबाट राजकुमारी विश्रवादेवी जन्तीसहित घर फर्कने क्रममा दाइजोका रूपमा माझकी देवी कालिका भगवती चाहियो भनी पितासँग आग्रह गरिन् ।
राजा मणिमुकुन्द सेनले राजकुमारीको माग पूरा गरी दाइजोस्वरुप देवीको डोली र खड्गसमेत उपहार दिई पठाए । पाल्पाबाट खड्काहरुका साथ पर्वत लाने क्रममा काठेखोला र कालीगण्डकी नदीको संगम स्थानबीचको पहाडी भूभागमा डोली एकछिन् बिसाइयो । डोली उठाउन हरप्रयास गर्दा पनि देवीको डोली र खङ्ग नउठेपछि उक्त स्थानमा वि.सं. १५९१ देखि विधिवत् मन्दिर स्थापना गरी पूजापाठ आरम्भ गरियो । त्यति बेलाका खड्काहरुलाई नै हर्ताकर्ता एवं पुजारीको रूपमा राखियो । त्यस बेलाका चक्रमोहन खड्का प्रथम पुजारीका रुपमा नियुक्त भए । त्यस बेलादेखि हालसम्म खड्काहरूका वंशजले पूजा चलाउँदै आएको इतिहास पाइन्छ । देवी रहेको स्थानमा करिब १ सय ९० रोपनी क्षेत्रफल फैलिएको छ । उक्त जग्गा मन्दिरको गुठीका रूपमा रहेको छ ।
मन्दिर स्थापनाकालदेखि नै विशेष गरी खड्का (क्षत्री) हरुलाई मन्दिरमा पूजाआजाका लागि राखिएको पाइन्छ । बागलुङ कालिका भगवतीको दर्शन गर्न देशभरिका विभिन्न ठाउँबाट दर्शनार्थीहरू बागलुङ पुग्ने गर्दछन् । प्रत्येक मंगलबार, शनिबार, अष्टमीलगायतका विभिन्न विशेष दिनहहरुमा ब्राह्मणहरूमार्फत देवीको स्थापना गरी रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य ब्राह्मणहरू पूजापाठका लागि मन्दिरवरिपरि बस्ने गरेका छन् । वर्षको दुईपटक चैतेदशैँ र बडादशैँमा नियमित पूजा हुन्छ, जसलाई सरकारी पूजा भनिन्छ । यस पूजामा यमपूजा, जसमा पञ्चबलि पनि चढाइन्छ । बागलुङ कालिका भगवतीको मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरि दर्शनार्थीहरूको चहलपहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा भक्तजनहरूको भीड कम लाग्ने गरेको पाइन्छ ।
यस मन्दिरमा दर्शन र पूजापाठ गर्नाले सन्तान प्राप्त हुने, मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वास रहँदै आएको पाइन्छ । विवाह नभएकाहरुको विवाह हुने, उचित वर–वधू प्राप्त हुने, परीक्षामा सफलता मिल्ने, जागिर, वैदेशिक रोजगारमा सफलता मिल्ने, रोग–शोकबाट मुक्त भइने विश्वास रहँदै आएको पाइन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले देवी प्रसन्न भई उचित फल प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको छ ।
मन्दिर अवस्थित जङ्गलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटो रहेको छ । यो बाटोमा एउटा बाफ आउने दुलो रहेको छ । त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने किंवदन्ती रहको छ । राति जाग्राम बस्ने कति महिलाहरूले देवी बाघमा चढ्दा देखेको अनुभूति सुनाएको पाइन्छ । राजकुमारी विश्रवाले देवीको प्रत्यक्ष दर्शन पाउँथिन् भन्ने किंवदन्ती पनि रहेको पाइन्छ ।
बागलुङको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं सांस्कृतिक यस मन्दिर परिसरमा १६२ मिटर तल रहेको कालिगण्डकी नदीको पानी ल्याइएको छ । कालिका मन्दिर आउने दर्शनार्थी भक्तजनहरूलाई लक्षित गरी नौवटा धारासहित स्नानगृह पनि निर्माण गरिएको छ । यसरी मुस्ताङको मुक्तिनाथदेखि धार्मिक महत्वका साथ बगिरहेको कालिगण्डकी नदीको पानीले कालिका भगवतीको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ पारेको छ । मन्दिर प्रवेश गर्ने मूल गेटबाट अगाडि जाँदा बाटोको दायाँ भागबाट मन्दिरको उत्तर दिशामा निर्माण गरेको नौधारामा नौवटा देवीको स्वरूप झल्कने मूर्ति स्थापना गरिएको छ ।
प्रत्येक देवीको मूर्तिमुनिबाट गाईको प्रतिविम्ब रहेको धाराबाट पानी खसालिएको छ । मन्दिरमा प्रत्येक दिन बिहान कालिगण्डकीको जल चढाउनका लागि पुजारीले नदीमै स्नान गरेर जल ल्याउनुपर्ने चलन थियो, तर अहिले मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि मन्दिर व्यवस्थापन, पुजारी र भक्तजनहरूलाई समेत सहज भएको छ ।
मन्दिरमा चार दिशामा चारवटा ढोका रहेका छन् । मन्दिरपूर्वको ढोका कहिल्यै खोलिँदैन । वि.सं. १९८२ मा मन्दिरको जीर्णोद्धार गर्ने क्रममा मन्दिरको पूर्वी ढोका खोल्दा नाग उत्पन भएको हुँदा, देवी रिसाएर देशमै अनिष्ट हुन्छ भन्ने भनाइ रहेको पाइन्छ ।
मन्दिर परिसरमा पाँचवटा सत्तलहरू, वरिपरि भित्तामा १४ वटा प्रस्तर मूर्ति र १०८ वटा तामाका दियो राखिएका छन् । मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ ।
मन्दिरमा परेवाको बलि चढाउन रोकिएको र शान्तिको प्रतीक परेवालाई उडाएर श्रद्वा व्यक्त गर्ने गरिएको पाइन्छ । कालिका मन्दिरको गर्भभित्र एउटा चौका उठाइएको छ । त्यस चौकामाथि उत्तर र दक्षिण पारेर लहरैसँग माटोका तीनवटा अर्धगोलाकार थुम्का उठाइएको छ । त्यसदेखि माथि एक तह पेटी उठाएर त्यस्तै एउटा थुम्का उठाइएको छ । यी चारवटै थुम्कालाई चाँदीको पाताले मोडिएको छ । यिनै थुम्काहरुलाई कालिका भगवतीको प्रतीक मानेर पूजा गरिन्छ । यो बनावट, आकृति बेग्लै रहेको छ । ती चारवटै आकृति चारवटा डोलेहरुको आकृति हो र थुम्का परापूर्वकालदेखि नै रहेको जनविश्वास रहेको पाइन्छ । मन्दिरभित्र पूर्व खण्डमा ३ फिट अग्लो र ९ फिट जति चौडाइ भएको चारकुने चौको मण्डप रहेको छ । त्यसै मण्डपमा चाँदीका ढकनीले ढाकेका तीन थुम्का रहेका छन् । जहाँ महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा स्थापित गरिएको छ । मन्दिर पुजारी एवं भक्तजनहरूलाई कालिका देवीले साक्षात दर्शन दिँदा देवीको तेजबाट भस्म हुने भएकाले देवीलाई भूगर्भमा स्थापित गरी मण्डप बनाएर पूजा गर्न थालिएको किंवदन्ती पाइन्छ ।
शाहवंशीय राजाहरूमा राजा महेन्द्र कालिका देवी भगवतीको दर्शन गर्ने पहिलो राजा हुन् । यिनले २०१६ साल मङ्सिर ३० गते कालिका देवीको पूजा–अर्चना गरेको पाइन्छ । तत्पश्चात पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलबाट २०६२ साल चैत्र महिनामा कालिका देवीको पूजा–अर्चना गरेको पाइन्छ । पहिले बागलुङ कालिका चोकमा राजा महेन्द्रको शालिक थियो । सो शालिकबाट गणतन्त्रलाई खतरा भएका कारण २०६३ सालमा उक्त शालिक तोडफोड गरिएको थियो । बागलुङ जिल्लासँग बाघको नाता जोडिएकाले किंवदन्तीलाई आधार मानेर हाल बाघको शालिक, कालिका भगवतीको बाहन पनि बाघ नै भएकाले बाघको शालिक राखिएको छ । घना जङ्गलका बीच बाघ लुक्ने ठाउँ ‘बागलुक’ नामबाट अपभ्रंश हुँदै बागलुङ नाम रहन गएको किंवदन्ती छ ।
नेपालकै सबैभन्दा लामो र अग्लो पर्वत र बागलुङ जोड्ने ५६७ मिटर लामो झलुंगे पुल निर्माण गरिएको छ । मन्दिरबाट करिब १० मिनटको पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ । मन्दिरवरिपरि साल, सल्लो, चिलाउने, काइँयोका ठूला–ठूला रुखहरुले घेरिएको दृश्य देख्न सकिन्छ । निरन्तर नौवटा धारामा कालीगण्डकीको पानी आउने हुँदा धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ । मन्दिरको धार्मिक, ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक, भौतिक व्यवस्थापनलगायतका कारणले पछिल्लो समयमा दर्शनार्थीहरूको चाप बढेको छ । पूर्व र दक्षिणमा काठेखोला पश्चिममा बागलुङ बजार र उत्तरतर्फ पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिर निर्माण गरिएको छ । मन्दिरमा नेपाललगायत भारतबाट पनि हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गरेका छन् । मनले चिताएको मनोकामना पूरा हुने धार्मिक आस्था र विश्वासको धरोहर कालिका मन्दिर प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक पवित्र शक्तिपीठ पनि हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको बागलुङ कालिका भगवतीले हामी सबैको कल्याण गरुन् ।











प्रतिक्रिया