पोखरा।
जेन–जीको आन्दोलनमा तहसनहस भएको पोखरामा गण्डकी प्रदेशका सामाजिक मन्त्री विन्दुकुमार थापाको निजी घर तथा व्यवसाय पनि जल्यो । पोखराको नयाँबजारमा उहाँको घरसँगै भाइको घर पनि जलाइयो भने लेकसाइडमा रहेको होटल र व्यावसायिक प्रतिष्ठान पनि जलाइयो ।
जेन–जीले लगाएको आगोमा परी मन्त्री थापाको परिवारको व्यवसायमा दुई महिला कामदारको जलेर मृत्यु भयो । त्यही थापाको परिवारमाथि अहिले अर्को हमला भएको छ । मन्त्री थापाका छोराको नाममा फेक आइडी बनाई रकम ठगी गर्न थालिएको छ । आफूहरू अहिले समस्यामा परेको र सहयोग गर्न भन्दै थापाका छोरा सौगात थापाको नामबाट ठगी शुरू भएको हो ।
विन्दुकुमार थापाका भाइ धु्रव थापाले आफूहरूको नामबाट ठगी भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै त्यस्तो किसिमको सहयोग माग्न लागेमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘वर्तमान पीडाको समयमा पनि केही असामाजिक व्यक्तिहरूले हाम्रो परिवारलाई थप पीडा दिन खोजेको भेटिएको छ । हाम्रो परिवारका सदस्यहरूको नाममा फेक आइडीहरू बनाएर केही व्यक्तिहरूले सहयोग रकम माग गर्दै ठगीधन्दा चलाइरहेको पाइएको छ । जानकारीमा आएका केही त्यस्ता व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाहीको प्रक्रियासमेत अघि बढाइसकेको छ । यस अवस्थामा हाम्रो तथा हाम्रो परिवारको कसैको पनि नामबाट कुनै पनि माध्यमद्वारा कसैले पनि सहयोग रकम मागेको पाइएमा तत्काल हामीलाई वा प्रहरीलाई जानकारी गराई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।’
घर र रिसोर्ट जलाइएको भोलिपल्टै मन्त्री थापाका छोरा सौगात थापाको नाममा नक्कली फेसबुक आइडी बनाइयो । त्यसमार्फत आफू ठूलो समस्यामा परेको भन्दै विभिन्न व्यक्तिहरूसँग रकम मागियो । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले उक्त आइडीमार्फत १ लाख रुपियाँ मागिएको भन्दै फेसबुकमै जानकारी दिनुभयो । त्यसपछि अरू धेरै व्यक्तिहरूले पनि त्यस्तै किसिमले रकम मागिएको विषय सार्वजनिक गर्नुभएको थियो ।
यसै क्रममा पोखरा ट्रेड मलमा व्यवसाय गर्नेहरूसँग पनि नक्कली आइडीमार्फत रकम असुल्ने प्रयास भयो । एक व्यापारीलाई नगदमै रकम लिन बोलाइएपछि उनले प्रहरीलाई खबर गरे । त्यसै क्रममा प्रहरीले नगद लिन पुगेका ४ जनालाई पक्राउ ग¥यो । पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल–८ का २८ वर्षीय विवेक गुरुङ, पोखरा–२९ का २७ वर्षका बुद्ध गुरुङ, पोखरा–५ का ३७ वर्षीय मीनराज तामाङ र पोखरा–१७ का ४० वर्षीय दीपक ढकाल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूसँग लुटपाटमा प्रयोग हुने धारिलो हतियारसमेत भेटिएको छ । विवेक गुरुङको साथबाट विभिन्न दरका १ लाख २२ हजार रुपियाँ र दापसहितको धारिलो तरबार बरामद गरिएको छ भने बुद्ध गुरुङको साथबाट फलामको स्टिक बरामद गरिएको छ । उनीहरूले नक्कली आइडीमार्फत मात्र नभई अन्य स्थानमा हातहतियार देखाएर रकम असुली गरेको सूचना प्रहरीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतले बताउनुभयो ।
मन्त्री थापा र उहाँका परिवारका घरदेखि व्यापारिक प्रतिष्ठानसम्म जलेर २ जनाले जलेर ज्यान नै गुमाए । मन्त्री थापाको अंशुभरा स्क्वायरमा दोलखाकी स्वस्थानी खड्का र नयाँबजारमा मन्त्रीका भाइ ध्रुवले सञ्चालन गरेको हिमालय अर्गनाइजेसनअन्तर्गतको गाडी सोरुममा जलेर दुई जनाले ज्यान गुमाएका हुन् ।











प्रतिक्रिया