काठमाडौं।
गत साता नेपाली राजनीतिकमा भुँइचालो नै आयो । यो २०७२ सालको महाभुकम्पभन्दा पनि ठूलो थियो । जेन–जी पुस्ता ( सन् १९९७–२०१२ को बिचमा जन्मेका) ले गत सोमबार र मंगलबार (भाद्र २३ र २४ गतें) गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा देशमा भएको सरकारलाई ढाल्यो । करिब २२ घण्टामै सरकार ढालेको दावी गरिएको छ । यति कम समयमा सरकार ढालेको यो पहिलो भनिएको छ र देश विदेशमा यसको चर्चा पनि भएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको सरकार पालै पालो चलिरहेको यस अवस्थामा निरास भएपछि नयाँ पुस्ताले विरोध जनाएको थियो । यसमा ५० भन्दा बढी शहिद भए भने ४ सय भन्दा घाइते भए । साथै देशको धरोहरमा रहेको सिंहदरबारसमेत जलाइयो । सांसद भवन जलाइयो भने न्यायपालिका पनि जलाइयो । यो भौतिक क्षति कहालीलाग्दो रहेको छ । यसमा अर्बौ रकमको नोक्सानी भएको छ ।
यो जेन जी आन्दोलनले खेलकुदतर्फ पनि असर परेको छ । सबैभन्दा ठूलो असर परेको भनेको महिला फ्रेन्चाइजी भलिबल प्रतियोगितामा थियो । यसमा प्रत्येक टोलीले विदेशबाट खेलाडी ल्याइएको थियो । यसमा धेरै रकम खर्च गरिएको छ । तर, भाद्र २० गतेदेखि शुरु भएको केही दिनपछि नै आन्दोलनका कारण प्रतियोगिता स्थगति गर्नु परेको थियो ।
प्रतियोगितामा अमेरिका, नेदरल्यान्ड्स, फ्रान्स, थाइल्यान्ड, ब्राजिललगायत देशबाट १८ विदेशी खेलाडी ल्याइएको हो । यसले पोखरा रंगशालाको कभर्ड हलमा चहलपहल पनि शुरु भयो । केही दिनपछि त भलिबलले पनि विश्राम लिनु परेको थियो । यसले भलिबल प्रतियोगिता फेरि सुचारु हुने नहुने कुनै ठेगान भएको छैन।
देशव्यापी भएको जेन जी आन्दोलन पोखरा पनि अछुटो रहेन । काठमाडौं स्पाइकर्स र पोखरा निन्नाजको टोली बसेको सरोबर होटलमा तोडफोड गर्नुका साथै आगजनी पनि गरिएको थियो । यो डरलाग्दो अवस्थामा खेलाडीहरू पदाधिकारीहरूले ज्यान बचाउन भाग्नु परेको थियो । यस्तै, कर्णाली यश्वीस बसेको होटलमा पनि तोडफोड गरिएको थियो । कति विदेशी खेलाडीको सामान पनि जलेको थियो । उनीहरूको सामान र रकम लुटिएको थियो । एक खेलाडीले बताए—चोरी भयो, सामान लुटियो तर, हामी ज्यान बचाइयो ।
यस्तो भयानक अवस्था सिर्जना भएपछि ती विदेशी खेलाडीहरू फेरि नेपाल आएर खेल्ला भन्ने शंका नै छ । यदि नआएमा टोलीहरूले यिनीहरूमा लगानी गरेको रकम पनि गुमाउनु परेको छ । यस्तो अवस्था सिर्जित हुन्छ भनेर कसैले कल्पना पनि गरेको थिएन होला ।
यसैगरी काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच पुरुष फुटबल टोलीबीच दोस्रो मैत्री खेल स्थगित गर्नु परेको थियो । पहिलो खेल शनिबार भाद्र २१ गते खेलाइएको थियो । जुन खेलमा कुनै रौनक नै थिएन । दुबैतर्फबाट निरस खेल खेलेर गोलरहित बराबरी नतिजा ल्याएको थियो ।
करिब २ वर्षपछि दशरथ रंगशालामा पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेल हुँदा पनि खेल हेर्न करिब ५ हजार दर्शक आएका थिए । यसपछि मंगलबार दर्शक आउने आस गर्दागर्दै आन्दोलनका कारण खेल नै हुन सकेन । यसपछि बंगलादेशको टोली स्वदेश फर्कन पनि सकेन । उनीहरूको लागि यो निकै कष्ट समय रहेको थियो । बल्ल उनीहरू बिहीबार स्वदेश फर्कन पाएका थिए ।
खेलकुद अवार्ड स्थगित
जेन जी आन्दोलनको कारण नेपालको एक मात्र खेलकुद अवार्ड कार्यक्रम स्थगित गर्नु परेको थियो । यही भाद्र २९ गते (आज) हुने भनिएको यो एनएसजेएफ अवार्ड स्थगित भएको थियो । यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो । उता, पोखरा महानगरपालिकाबाट यस अवार्ड गराउनका लागि १५ लाख रकम सहयोग गरेको थियो ।
क्रिकेट खेलाडीको निधन
गत जेनजी आन्दोलनका क्रममा बाँकेका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको निधन भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । आन्दोलनकै बीचमा उनको असामयिक निधन भएको समाचारले नेपाली क्रिकेट परिवारलाई स्तब्ध बनाएको भन्दै क्यानले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।











प्रतिक्रिया