काठमाडौं ।
भाद्र २३ र २४ गते जैन जी समूहको प्रदर्शनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै प्रमुख सचेतकहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा जनधनको क्षतिका सम्बन्धमा छानबिन गरी संलग्नलाई कानूनी कारबाही गर्न माग गरिएको छ।
त्यसैगरी, भाद्र २७ गते राति राष्ट्रपति कार्यालयमार्फत प्रतिनिधि सभा विघटन गरिएको भनी जारी विज्ञप्तिप्रति गम्भीर असहमति व्यक्त गर्दै आठ दलका प्रमुख सचेतकहरूले उक्त कदमलाई अलोकतान्त्रिक र असंवैधानिक बताएका छन्।
विज्ञप्तिमा संविधान, सर्वोच्च अदालतका नजीर र संवैधानिक परम्पराविपरीत प्रतिनिधि सभा विघटन गरिएको भन्दै निर्णय फिर्ता लिन, तत्काल संसद बैठक बोलाउन र आन्दोलनरत जनताको माग जननिर्वाचित संस्थामार्फत सम्बोधन गर्न जोडदार माग गरिएको छ।
संयुक्त विज्ञप्तिमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरूको हस्ताक्षर छ।











प्रतिक्रिया