२४ घण्टामा नै ध्वस्त भयो पोखरा

2.82k
Shares

पोखरा।

परिवर्तनका लागि शुरू भएको जेन–जी आन्दोलनले २४ घण्टाभित्रै शासन सत्ता पल्टाइदियो । देशभर जागेका नयाँ पुस्ताले रोचक र प्रभावकारी रूपमा परिवर्तन ल्याउने सबैको आँकलन रहे पनि अवस्था उल्टो भयो । गण्डकी प्रदेशका शासकीय संरचना ध्वस्तमात्रै भएनन् । न्यायालय र सुरक्षा कवजसमेत ध्वस्त बनाए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा, जिल्ला प्रशासन, महानगरपालिका, उच्च र जिल्ला अदालत, मालपोत, नापी प्रदेश प्रमुखको निवासलगायत प्रायः सबै सरकारी कार्यालय जलाइयो, तोडफोड गरियो । कास्की कारागारबाट ७ सयभन्दा बढी कैदीबन्दी सहज रूपमा फरार हुन पुगे । एमाले, माओवादी केन्द्रका पार्टी कार्यालय बाँकी रहेनन् । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाको निवास र व्यापारिक केन्द्र (अटो सो रुम), रिजोर्ट ध्वस्त बनाइयो । ती संरचनामा आगजनी हुँदा २ जनाले ज्यानै गुमाए । विभिन्न दलका नेता, कार्यकर्ताको निजी सम्पत्तिमाथि पनि धावा बोलियो ।

जिल्ला प्रहरी कार्यालयलगायत नेपाल प्रहरीका विभिन्न युनिटमा आन्दोलनकारीले आक्रमण गरेपछि पोखरामा शान्ति सुरक्षाको अभाव खस्कियो । प्रहरीका हतियार र पोसाक खोसिए । सडक कार्यालयका डोजर लोडरसमेत कब्जामा लिइयो । सडकमा कुदाइयो । भाटभटेनी लुटिएनमात्र आगोसमेत लगाएर ध्वस्त पारियो ।

राति १० बजे नेपाली सेना परिचालन भए पनि त्यसअघि नै अधिकांश संरचना ध्वस्त भइसकेका थिए । सेना परिचालन भइसकेपछि पनि केही संरचनाहरूमा आगजनी गरियो । केही युवा खुकुरीलगायत धारिलो हतियार प्रदर्शन गर्दै सडकमा ओहोरदोहोर गरिरहे । स्थानीय त्रसित थिए । उनीहरू भन्दै थिए, ‘को आन्दोलनकारी, को लुटेरा छुट्टयाउनै गाह्रो भयो ।’

पोखराको पहिचान वा पोखराको प्रमुख आम्दानीको स्रोत पर्यटन हो । जेनजीको आन्दोलनले पोखरामात्र होइन नेपालभरिकै पर्यटनमा ठूलो असर पु¥याएको छ । पर्यटन उद्योग ध्वस्त हुँदा अर्थतन्त्र लामो समयसम्म पुनः उठ्न नसक्ने निश्चित छ । प्रादेशिक संरचना जलेसँगै अब के हुने भन्ने अन्योल छाएको छ ।

सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएका युवाले भ्रष्टाचार र अव्यवस्थाबारे प्रश्न पनि उठाएका थिए । त्यसको बेवास्ता गर्दै सोमबार सरकारले दमन गर्दा एकै दिन १९ जनाको मृत्यु हुन पुग्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएनन् । सायद चैत १५ को राजावादीको जस्तो आन्दोलन तुहिने विश्वासमा थिए उनी । यसैले दम्भ र अहंकारका साथ बसे ।

मंगलवार बिहानैबाट प्रायः देशका सबै स्थानमा अवस्था नियन्त्रणबाहिर जान पुग्यो । पोखरामात्र होइन, काठमाडौंलगायत देशभर नै विध्वंस मच्चियो । सडक र सुरक्षा निकायलगायत सरकारी संरचना आन्दोलनकारीको नियन्त्रणमा पुगे । सुरक्षाकर्मीले थेग्न नसकेपछि आन्दोलनकारीलाई छाडिदिएपछि स्थिति भयावह हुनपुग्यो । राजधानीमा जस्तो पोखरामा पनि आगो निभाउन दमकल भएन, बिरामी बोक्ने एम्बुलेन्स पनि पाइएन । आन्दोलनकारीले कहाँ, कति क्षति पु¥याए भन्ने एकीकृत सूचना अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

यसअघिका कुनै पनि आन्दोलनको समयमा यस्तो अवस्था देखिएको थिएन । स्थितिलाई नियन्त्रणमा लिन टोलटोलमा सुरक्षा समितिहरू बनेका थिए । त्यसले यो अवस्था हुन रोकेको थियो । तर, अहिले आफ्नो सुरक्षाका लागि कोही पनि संगठित हुन सकेनन् । त्यसैले पनि क्षतिको मात्रा ठूलो हुन पुग्यो ।