नेपालको पछिल्लो घटनामा अल्मुताइरीको चिन्ता


काठमाडौं।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको पछिल्लो राजनीतिक संकटप्रति चिन्ता जनाएका छन् ।
देशको वर्तमान परिस्थितिप्रति अल्मुताइरीले सामाजिक संजाल फेसबुकमार्फत भावनात्मक सन्देश लेखेका हुन् । ‘हामी प्रशिक्षकहरूलाई राजनीतिक कुराहरुमा संलग्न हुने अनुमति छैन,’ अल्मुताइरीले लेखेका छन्, ‘म यो समयमा नेपाल र नेपाली जनताका लागि प्रार्थना गरिरहेको छु । नेपाललाई अल्लाहले बचाउन् ।’

अल्मुताइरी नेपाली राष्ट्रिय टोलीको जिम्मेवारीमा नेपालले माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा फाइनल पुगेर इतिहास बनाएको थियो । यो नेपालको पहिलो फाइनलसमेत थियो । तर, यो खेलमा नेपाल पराजित भएर उपाधिविमुख भएको थियो । त्यस्तै अल्मुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणसम्म पुगेको थियो ।