उद्योगी व्यवसायीको ज्यान बच्यो, सम्पत्ति सकियो

2.16k
Shares

काठमाडौं

भदौ २४ गते देशभर भएको हिंसात्मक गतिविधिले नेपाललाई गम्भीर आर्थिक संकटतर्फ धकेलेको छ । विशेषगरी निजी लगानी, ठूला उद्योग व्यवसाय, होटल, सुपरमार्केट, बैंक तथा व्यापारिक केन्द्रहरूमा आक्रमण, लुटपाट र आगजनीका घटनाले मुलुकको अर्थतन्त्र जटिल बन्ने संकेत देखिएको छ । आक्रमणका घटनाको यकीन तथ्यांक र क्षतिको पूर्ण विवरण आइसकेको छैन । तर, देशैभर निजी व्यवसायमा भएको आक्रमणले नेपालको अर्थतन्त्र कता जान्छ भन्ने भने अन्योलता भने सिर्जना गरेको छ ।

कोभिड–१९ का कारण भएको आर्थिक मन्दीले पहिले नै अर्थतन्त्रलाई कमजोर रहेका बेला भएको घटनाले देशको आर्थिक भविष्यमाथि गम्भीर प्रश्न उठाएको छ । आक्रमण र क्षतिको घटनाले रोजगारी अभाव, उत्पादन ह्रास र मूल्यवृद्धि उच्च हुने निश्चित नै छ ।

जसका कारण राजस्व संकलनमा गम्भीर असर पर्ने भएकाले सरकारका अन्य गतिविधि पनि प्रभावित हुनेछन् । देशमा स्थिरता नआउँदा समग्र आर्थिक गतिविधि कमजोर भइ दीर्घकालीन रूपमा यसले अभाव र भोकमरीको अवस्था निम्त्याउन सक्नेका साथै जनसंख्या पलायन बढ्ने जोखिम उत्पन्न गर्न सक्ने विज्ञहरूको चेतावनी छ ।

जेन–जी आन्दोलनका कारण राज्य संयन्त्रसमेत आक्रमण भई, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै ध्वस्त भएको र राजनीतिक अन्योलता कारण बाह्य लगानी र सहयोगको सम्भावना न्यून रहेको छ । एक दिनको आन्दोलनले क्षणभरमै देशको अर्थतन्त्र ध्वस्त भएको स्थिति छ ।

क्षतिको आंशिक विवरण

राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोड गरी भल्टभित्र प्रवेश गर्ने प्रयास भए पनि नेपाली सेनाले नियन्त्रणमा लिएपछि नगद सुरक्षित रहेको छ । त्यस्तै, बत्तिसपुतलीस्थित मारवाडी सेवा समितिको भवनमा आगजनी हुँदा त्यहाँ रहेको हिमालयन बैंकको शाखा पूर्ण रूपमा जलेको भए पनि भल्ट सुरक्षित रहेको जनाइएको छ ।

यस्तै, भाटभटेनी सुपर मार्केटमा आगजनी हुँदा त्यहाँका बैंक एटीएमहरू क्षतिग्रस्त भएका छन् । भाटभटेनीको भरतपुर र विराटनगर शाखामा रहेका स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्यालय पूर्ण रूपमा जले पनि नगद सुरक्षित रहेको बताइएको छ । थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क जलेपछि त्यहाँ रहेको ग्लोबल आईएमई बैंकको शाखामा भौतिक क्षति भए पनि भल्ट सुरक्षित रहेको जनाएको छ । विभिन्न सरकारी कार्यालयमा रहेका बैंकका सेवा केन्द्रहरू र एटीएमहरू पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । लुटपाट र आगजनीका कारण बैंकिङ क्षेत्रमा क्षति पुगेको त छ । तर, सरकारी सम्पत्ति र अन्य व्यावसायिक केन्द्रको तुलनामा बैंकिङ क्षेत्रमा कम क्षति पुगेको बैंकहरुको भनाइ छ ।

त्यस्तै आन्दोलनले विकास बैंकहरूमा ठूला क्षति भएको छैन । केही विकास बैंकका शाखामा सामान्य भौतिक क्षति भए पनि मानवीय तथा नगद क्षति नभएको प्रारम्भिक निष्कर्ष आएको छ ।

व्यापारिक घराना चौधरी समूह (सिजी ग्रुप)का मुख्यालय, विभिन्न औद्योगिक प्रतिष्ठानका साथै यसका सञ्चालक विनोद चौधरीको निजी निवासमा समेत तोडफोड, आगजनी र लुटपाट भएको छ । जसबाट अर्बौ रुपियाँको क्षति भएको छ ।

विशेषगरी ललितपुरका सानेपास्थित समूहको मुख्यालय, निवास, काठमाडौंको सतुंगलस्थित सिजी पार्कमा व्यापक आगजनी र लुटपाट भएको छ ।
सीजीको मुख्य कार्यालयमा आगजनी र लुटपाट गरेका छन् । जसबाट कयौं गाडी तथा मोटरसाइकल नष्ट भएको छ । र वेयरहाउस पूर्ण रूपमा ध्वस्त भएकोे छ । थापाथलीस्थित सिजी मोटर्सको शो रुममा प्रदर्शनकारी आगलागी गर्दा कयौं गाडी नष्ट भएका छ । साथै सिजीको वेयरहाउसमा दसैंका लागि स्टक गरिएको इलेक्ट्रोनिक तथा अन्य सामान राखिएको थियो ।

आन्दोलनकारीहरुले पर्खाल भत्काएर टिभी, फ्रिज, मिक्सर ग्राइन्डरलगायत घरायसी सामान लुटपाट भएको छ । काठमाडौंको रविभवन, बानेश्वर (गहनापोखरी नजिक) र चितवनको नारायणघाटस्थित सिजी डिजिटल शो रुमहरूमा पनि तोडफोड र लुटपाट भएको छ ।

त्यस्तै भाटभटेनी सुपरमार्केटका एक दर्जनभन्दा बढी स्टोरहरूमा प्रदर्शनकारीले आगजनी, तोडफोड र लुटपाट गर्दा अर्बौ रुपियाँको क्षति भएको छ । भाटभटेनीका ११ वटा स्टोर र मुख्य गोदाम पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक आएको छ । विर्तामोड, दमक, विराटनगर र धरानका स्टोर जलेर ध्वस्त भएका छन् ।

त्यस्तै हेटौंडा, पोखरा र भरतपुरका स्टोर पनि पूर्ण रूपमा नष्ट भएको छ । काठमाडौं उपत्यकाभित्र बालुवाटारको मुख्य गोदाम, टंगालको पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीका स्टोर पनि पूर्ण रूपमा क्षति पुगेका भने राधे राधे लगायतका देशभरका सबैजसो स्टोरमा तोडफोड र लुटपाट भएको छ । ११ वटा स्टोर भने भवन पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेको जननाएको छ ।

लुटपाट, आगजनी र तोडफोडबाट कति रकम बराबरको क्षति भयो भन्ने एकिन विवरण आएको छैन । अहिले क्षतिको विवरण संकलन गर्ने र मूल्यांकन गर्ने अवस्थाभन्दा पनि ज्यान जोगाएर बस्नुपर्ने अवस्था छ । तथापि, प्रत्येक स्टोरमा एक अर्ब रूपियाँभन्दा बढीको सामान स्टक हुने गरेको छ । साथै दर्जन स्टोर जगदेखि नै बनाउनुपर्ने गरी खण्डहर भएका छन् । जसले गर्दा एक खर्बभन्दा बढीको क्षति भएको सामान्य अनुमान गर्न सकिने भाटभटेनी स्टोरका एक म्यानेजरले नेपाल समाचारपत्रसँग बताए ।

यसैगरी देशभरका विभिन्न अटो शो रुममा आगजनी गरेका छन् । राजधानीभित्रका थापाथली, माइतीघर, नक्साल, कुमारीपाटी लगायतका प्रमुख क्षेत्रमा रहेका शोरुम अहिले क्षतिग्रस्त बनेका छन् ।

थापाथलीस्थित टाटा, हुन्डाई, सुजुकी, सिजी मोटर्सलगायतका ब्रान्डका शो रुममा प्रदर्शनकारीले आगजनी गर्दा ध्वस्त भई करोडौं मूल्यका सयौं गाडी जलेर खरानी भएका छन् ।
मंगलबार भएको घटनामा अटो कम्पनीहरूले कति क्षति बेहोर्नुप¥यो भन्ने यकिन विवरण अझै संकलन हुन सकेको छैन । कम्पनी पिच्छे क्षतिको तथ्यांक लिने काम सुरु नभएकाले अटो व्यवसायीहरू स्तब्ध अवस्थामा छन् ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल पदाधिकारीहरूका अनुसार अधिकांश शो रुममा आगजनी भएकाले क्षतिको यकिन आकलन गर्न तत्काल सम्भव भएको छैन । क्षतिको तथ्यांक आउन केही समय लाग्नेछ । सबै कम्पनीहरुले देशैभरीबाट विवरण संकलन गरेपछि मात्रै यकिन क्षतिको तथ्यांक आउने छ । तथापि, थापाथलीस्थित टाटा, हुन्डाई, सुजुकी, सिजी मोटर्सलगायतका ब्रान्डका शो रुममा प्रदर्शनकारीले आगजनी गर्दा ध्वस्त भई करोडौं मूल्यका सयौं गाडी जलेर खरानी भएका छन् । अन्यत्र पनि कयौं गाडी जलाइएको प्रारम्भिक अनुमान छ ।

आन्दोलनका क्रममा नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीको ठमेलस्थित घरमा पनि तोडफोड भएको छ । एनआरएनए) का संस्थापक अध्यक्ष व्यवसायी उपेन्द्र महतोको भाटभटेनीस्थित आवासमा लुटपाट, तोडफोड र आगजनी गरिएको छ ।

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको लगानी भएको चन्द्रागिरि केबुलकार र मौलाकालिका केबलकारको बटम स्टेसन पनि आगो लगाएर ध्वस्त बनाइएको छ । महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको सितापाइलास्थित निवासमा आगजनी, लुटपाट र तोडफोड भएको छ । आक्रमणबाट घर र ४–५ वटा गाडी पूर्ण रूपमा जलेका छन् । साथै व्यवसायी पवन गोल्यानको बानेश्वर हाइटस्थित कार्यालय गोल्यान टावरमा तोडफोड र आगजनी गरिएको छ, जसबाट भवनमा आंशिक क्षति भएको छ ।

त्यस्तै नक्सालस्थित पाँचतारे होटल हिल्टन होटल प्रदर्शनकारीले जलाएर ध्वस्त बनाउँदा अर्बौ रुपियाँको क्षति भएको भने बालुवाटारस्थित वर्णवास होटलमा समेत आगजनी गरिएको छ । पाँचतारे होटल हायातमा समेत प्रदर्शनकारीले आक्रमण गरेका छन् । पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट र लगानीकर्ता विन्दुकुमार थापाको निवासमा ध्वस्त भएको छ ।

थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आगजनी गरिँदा कयौं व्यवसायिक कार्यालयहरु ध्वस्त भएका छन् । साथै सिम्रिक एयरको भवनमा आगजनी भएको छ ।
बत्तीसपुतलीस्थित मारवाडी टावर आन्दोलनकारीले जलाएका छन् । सो भवनमा रहेका हिमालयन जाभाको कफी पसल, हिमालयन बैंक तथा अन्य कार्यालयहरू जलेर ध्वस्त भएका छन् ।

त्यस्तै पुरानो बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आक्रमण भएको छ । साथै सतुंगलस्थित सिजी नेटको मुख्य डेटा सेन्टरमा आगलागी गरी ध्वस्त भएको छ । उता लैनचौरस्थित एनसेलको मुख्यालयमा आक्रमण गरी क्षति पुर्याएका छन् भने लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड गरी हजारौँ क्वीन्टल चामल र चिनी लुटपाट भएको छ ।

बीमा क्षेत्रमा ठूलो दबाब

आन्दोलनले बीमा क्षेत्रमा समेत महत्वपूर्ण असर पारेको छ । आन्दोलनका क्रममा भएको क्षतिले बीमा कम्पनीहरूले धान्नै नसक्ने गरी ठूलो दाबी पर्न सक्ने अनुमान गरिएको छ ।

विशेषगरी सवारी साधन तथा भवन र त्यसमा रहेका सम्पत्ति बीमा गरिएका होटल, भाटभटेनीका आउटलेट जस्ता व्यावसायिक स्थलहरूको क्षति बीमा दाबी अन्तर्गत पर्छ । यसमा भवन र त्यसभित्रको सम्पूर्ण सामग्रीको बीमा समावेश हुन्छ ।

बीमा क्षेत्रमा केही कम्पनीले आफ्नै स्तरमा दाबी भुक्तानी गर्ने व्यवस्था गरेका छन् भने बाँकी दाबी पुनर्विमा कम्पनीलाई हस्तान्तरण गरिन्छ ।
सम्पत्ति बीमा गर्दा हुलदंगा, हड्ताल र आन्दोलनसम्बन्धी जोखिमलाई अनिवार्य रूपमा समेट्नुपर्ने व्यवस्था छ । यसले गर्दा सम्पत्ति बीमा गर्ने सबै ग्राहकले आंशिक दाबी भुक्तानी पाउने देखिन्छ ।

उद्योगी व्यवसायीको मनोबल

नेपाल उद्योग वाणिज्य महासंघले अनौपचारिक जुम मिटिङमा सबै व्यवसायीलाई उच्च मनोबल कायम राख्न, उद्योग–व्यवसाय निरन्तर सञ्चालन गर्न, रोजगारी दिन र शान्ति–सुरक्षा सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरेको छ । जुम मिटिङमा व्यवसायीहरुले भनेका छन्–‘हामीले ऋण लिएर उद्योग व्यवसाय सुरु गरेका हौँ, लाखौं जनालाई रोजगारी दिएका छौँ, राज्यको नियमअनुसार कर बुझाउँदै देशको विकासमा हातेमालो गरिरहेका छौँ। राजनीतिक नेतृत्वका केही व्यक्तिका गल्तीका कारण उद्योग, घर र परिवारमा हमला भएको छ ।

छलफलमा दुई ठूला अर्थतन्त्र भएका देशबीच व्यवसाय गर्दा उद्योग विस्तार, रोजगारी सिर्जना र देशको विकासमा योगदान गर्न सकिने सम्भावना छ । तथापि, ज्यान जोगिन सक्ने अवस्था नहुने हो भने दीर्घकालीन व्यवसाय सम्भव नहुने व्यवसायीहरूले बताएका छन् ।

-राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखा तोडफोड र लुटपाट ।

-हिमालयन बैंक बत्तीसपुतली शाखा ध्वस्त ।

-भाटभटेनी सुपर मार्केटमा रहेका बैंक एटीएम क्षतिग्रस्त ।

-स्टान्डर्ड चार्टर्ड बैंकको भरतपुर, विराटनगर नष्ट ।

-ग्लोबल आईएमई बैंक थापाथली शाखामा आगजनी ।

-सरकारी कार्यालयमा रहेका दर्जनौं बैंक सेवा केन्द्र एटीएम पूर्ण रूपमा नष्ट ।

-चौधरी ग्रुपको सानेपास्थित मुख्यालय, सतुंगलस्थित सिजी डिजिटल पार्कमा आगजनी, गाडी मोटरसाइकल नष्ट, वेयरहाउस पूर्ण रूपमा ध्वस्त ।

-सिजी मोटर्स शोरुम आगजनी र लुटपाट ।

-काठमाडौं, चितवनलगायतका स्थानमा डिजिटल शोरुमहरूः तोडफोड र लुटपाट हुँदा अर्बौको क्षति ।

-भाटभटेनी सुपरमार्केटका ११ स्टोर र मुख्य गोदाम पूर्ण रुपमा ध्वस्त १ खर्ब रूपियाँभन्दा बढीको क्षतिको अनुमान ।

-थापाथली, माइतीघर, नक्साल, कुमारीपाटी क्षेत्रमा रहेका टाटा, हुन्डाई, सुजुकी, सिजी लगायतका कम्पनीका अटो शो रुममा आगजनी, करोडौँ मूल्यका सयौं गाडी जलेर नष्ट ।

-चन्द्रागिरि हिल्स र मौलाकालिका केबलकारमा आगजनी ।

-व्यवसायीहरु विनोद चौधरी, बसन्त चौधरी, उपेन्द्र महतो, शेखर गोल्छा, पवन गोल्यानका घर कार्यालयमा आगजनी, लुटपाट ।

-हिल्टन, वर्णवास, हायात, सरोवर होटल, बगैँचा रिसोर्टमा आगजनी हुँदा अर्बौं रुपियाँको क्षति।

-सिजी नेट डेटा सेन्टर, एनसेल मुख्यालय, सेन्ट्रल बिजनेस पार्क, सिम्रिक एयर भवन, मारवाडी टावर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, खाद्य व्यवस्था गोदाममा तोडफोड र आगलागी ।

-काठमाडौं, पोखरा, बुटवल, विराटनगर, चितवन, दाङ लगायतका स्थानमा सयौं उद्योग, व्यवसाय तथा प्रतिष्ठानमा लुटपाट, आगजनी र तोडफोडबाट अर्बौ रुपियाँको क्षति ।