गोली हानेर कैदीबन्दी नियन्त्रणमा

बाल सुधारगृहबाट भागेका ७८ बाल कैदी नियन्त्रणमा

1.5k
Shares

वीरगञ्ज

वीरगञ्ज कारागारको पर्खाल फोडेर भाग्ने प्रयास गरेका ४ जना कैदी नेपाली सेनाले हानेको गोली लागेर घाइते भएका छन् । कारागारका कैदीहरूले मंगलवार मध्यरातिदेखि नै कारागारबाट भाग्न खोजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना कारागारमा खटिएको थियो । कैदीहरूले भाग्नका लागि कारागारको पर्खाल फोडेर प्वाल बनाएपछि नियन्त्रणका लागि खटिएको सेनाले त्यही प्वालबाट कारागारभित्र अन्धाधुन्द गोली चलाएको थियो । सेनाले चलाएको गोलीले लागेर कैदीहरू विकास जयसवाल, विकास लामा, सन्जिव साह र राजा कुमार घाइते भएका हुन् ।

घाइते चारै जनालाई बुधबार बिहान एम्बुलेन्समा राखेर उपचारका लागि नारायणी अस्पतालमा पु¥याइएको र प्रहरीको निगरानीमा उनीहरूको उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उहाँले कारगारलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चारैतिरबाट घेरामा लिएको र अहिले अवस्थामा नियन्त्रणमा रहेको बताउनुभयो ।

यस्तै, वीरगञ्ज–४ वीर्तामा रहेको बाल सुधार गृहबाट मंगलवार राति भागेका १४६ बाल कैदीहरूमध्ये ७८ जनालाई बुधबार दिउँसोसम्म वीरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । फरारमध्येका ६८ जनाको खाजी भइरहेको पनि उहाँले बताउनुभयो ।
यसैबीच मंगलवार राति १० बजेदेखि सुरक्षाको कमान्ड नेपाली सेनाले लिएपछि बुधबार बिहानदेखि वीरगञ्जमा प्रदर्शन रोकिएको छ । बुधबार बिहानैदेखि चोक चोकमा सेना खटिएको छ । वीरगञ्जमा मंगलवार साँझदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । यसअघि सोमबार राति ९ बजेदेखि मंगलवार साँझसम्मका लागि कफ्र्यु लगाइएकोमा मंगलवार प्रदर्शन उग्र भई तोडफोड, आगजनी र लुटपाट चलेपछि स्थानीय प्रशासनले मंगलवार साँझ ६ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो ।