काठमाडौँ।
सुरक्षा मूल्यांकनका आधारमा नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यूलाई क्रमशः खुकुलो पार्ने निर्णय गरेको छ। नागरिकको जनधनको सुरक्षालाई प्राथमिकता दिँदै सेनाले केही समयसीमा तोकी आवश्यक आवतजावत र सेवामा सहजता ल्याइने जनाएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ २६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने, सोही दिन बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म कर्फ्यू जारी रहनेछ।
नागरिकलाई भदौ २६ गते बिहान ६–१० बजे र बेलुकी ५–७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्ने अनुमति दिइनेछ। यस अवधिमा स्वास्थ्य सेवा, सञ्चार, सुरक्षाकर्मी, खाद्यान्न, दूध, इन्धन, औषधि तथा अत्यावश्यक सामग्री ढुवानीका सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर कार्यालय पुग्न सक्नेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले टिकट देखाएर विमानस्थल जान सक्ने व्यवस्था गरिएको छ।
उपत्यका बाहिर भने निषेधाज्ञा तथा कर्फ्यूबारे सम्बन्धित जिल्ला सुरक्षा समितिले स्थानीय परिस्थितिअनुसार निर्णय गर्ने सेनाले जनाएको छ। जस्तोसुकै परिस्थितिमा पनि सुरक्षाकर्मीहरू नागरिकको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहने भन्दै सहयोग गर्न सेनाले सबैमा अपिल गरेको छ।













प्रतिक्रिया