जीवनको अन्त्य समाधान होइन

सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस

376
Shares

सुस्मिता श्रेष्ठ

मृत्यु एउटा शाश्वत सत्य हो । कसै–कसैले यसलाई अन्तिम सत्य पनि भन्छन् । सामान्य अर्थमा मृत्युलाई रोक्न सकिँदैन । मृत्युलाई रोक्न नसकिए पनि जीवनलाई लम्ब्याउन र असमयको मृत्युलाई रोक्न भने सकिन्छ । असमयको मृत्युमध्ये ‘आत्महत्या’ पनि एउटा अप्रिय घटना हो । विश्वभर प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसले निराशा, मानसिक तनाव तथा अन्य कारणले आफ्नो जीवन समाप्त गर्ने निर्णय लिने गरेको तथ्यांक छ । यो केवल व्यक्तिगत पीडा मात्र होइन, परिवार, समाज र राष्ट्रकै लागि गम्भीर क्षति हो । प्रत्येक जीवन अमूल्य छ, हरेक कठिनाइको समाधान पनि हुन्छ । साथै समझदारी, सहयोग र करुणाले जीवन बचाउन सकिन्छ । अर्थात् जीवन समाप्त गर्ने निर्णयको तहमा पुगेका व्यक्तिको सोचमा बदलाव ल्याउन सकिन्छ ।

परिवार, समाज, साथीभाइको सहयोगमा अप्रिय निर्णय लिने हदसम्म पुगेको व्यक्तिलाई त्यो प्रयासबाट रोक्न सकिन्छ । यही आशावादी सन्देशलाई लिएर विश्व स्वास्थ्य संगठनको अगुवाइमा सन् २००३ देखि प्रत्येक वर्ष सेप्टेम्बर १० तारिखका दिन ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाउने गरिँदै आएको छ । दिवसको मुख्य उद्देश्य मानिसमा जागरुकता फैलाउनु, अन्धविश्वास हटाउनु, आशा र भरोसा प्रदान गर्नुका साथै परिवार, समाज र सरकारको संयुक्त प्रयासबाट आफ्नो जीवनको अन्त्य गर्ने निर्णयलाई रोक्नुपर्छ र रोक्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु हो ।

विश्व स्वास्थ्य संगठनले हाल त्रिवर्षीय (सन् २०२४–२०२६) अवधिको लागि ‘आत्महत्याको कथा परिवर्तन गर्ने’ भन्ने विषयवस्तुलाई प्राथमिकतामा राखेको छ । यसको मूल उद्देश्य आत्महत्यासम्बन्धी गलत धारणाहरू हटाउने, मौनता र गलत कदमबाट टाढा राख्ने, खुलापन, करुणा र सहयोगको संस्कृति विकास गर्ने रहेको छ । साथै पीडा बाँड्ने वातावरण सिर्जना गर्नु रहेको छ ।

आत्महत्यालाई प्रायः मानसिक स्वास्थ्य समस्यासँग जोडेर हेरिन्छ । जस्तै– डिप्रेसन, निरासा, सामाजिक तथा आर्थिक तनाव, घरेलु हिंसा, लागूऔषध दुव्र्यसनजस्ता कारणले जीवनलाई अन्त्य गर्ने निर्णयको तहसम्म पुग्ने गरेको पाइन्छ । जीवनको अन्त्य गर्नु मात्र नभएर त्यसको प्रयास गर्नु, त्यससम्बन्धी विचार आउनु अथवा मृत्युको इच्छा आउनुलाई पनि आत्महत्यासँग सम्बन्धित गम्भीर संकेतका रूपमा लिनुपर्छ । यस्ता संकेतलाई हामीले कहिल्यै पनि बेवास्ता गर्नुहुँदैन । पीडित व्यक्तिले मात्रै होइन, परिवार र समाजसमेत त्यसतर्फ गम्भीर बन्नुपर्छ ।

आफ्नो परिवार, कार्यालय वा समाजमा त्यस किसिमको व्यवहार प्रदर्शन गर्ने कुनै सदस्य छ भने त्यसलाई गम्भीरतापूर्वक लिँदै समयमै त्यसको निदानका निम्ति सहजीकरण गरिदिनुपर्छ । समस्या निराकरणका लागि उसलाई सहयोग गर्ने, सहानुभूतिपूर्ण ऊसँग कुराकानी गर्ने र विशेषज्ञको सहयोगमा निदानका लागि सहयोग गर्न जरुरी छ । यस्तो गरेमा कसैको जीवन जोगाउन सकिन्छ । अरुको जीवन रक्षा गर्नु धार्मिकरुपमा पनि पुण्यको कार्य हो । तर समाजमा त्यस्ता व्यक्तिका बारेमा अफवाह फैलाउने, त्यो व्यक्तिलाई होच्याउने, घृणा गर्नेजस्ता गलत कार्य पनि गर्नुहुँदैन । कुनै पनि व्यक्तिलाई त्यस किसिमको अप्रिय निर्णय लिन बाध्य पार्ने वा प्रोत्साहित गर्नु कानुनीरुपमा दण्डनीय हो । तसर्थ, समाजका हरेक अंग यसप्रति सचेत बन्नुपर्छ ।

नेपालमा आत्महत्याको अवस्था

यो केवल व्यक्तिगत समस्या नभई एक प्रमुख विश्वव्यापी सार्वजनिक स्वास्थ्यको चुनौतीका रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनको सन् २०२१ तथ्यांकअनुसार, विश्वभर प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको मृत्यु आत्महत्याका कारणले हुने गरेको छ । अर्थात् औसतमा प्रत्येक ४० सेकेन्डमा एकजनाको मृत्यु आत्महत्याबाट हुने गर्दछ । नेपालमा पनि यो एक गम्भीर चुनौतीको रुपमा देखिएको छ ।

नेपाल प्रहरीको आत्महत्या न्यूनीकरण तथा व्यस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ अनुसार आर्थिक वर्ष २०७९÷८० मा कुल ६ हजार ९७४ वटा आत्महत्याको मुद्दा दर्ता भएको थियो । जसको अर्थ नेपालमा प्रत्येक दिन करिब २० जना मानिसको मृत्युको कारण आत्महत्या हुने गरेको छ । यो कुल मृत्युको १२ प्रतिशत हो । १५ वर्षदेखि २९ वर्षको उमेर समूहमा आत्महत्या सडक दुर्घटनापछिको सबैभन्दा ठूलो मृत्युको कारक देखिन्छ ।

नेपाल प्रहरीको तथ्यांकलाई विश्लेषण गर्दा नेपालमा औसतमा वार्षिक ३ प्रतिशतले आत्महत्याको घटना वृद्धि भइरहेको देखिन्छ । साथै १० वटा आर्थिक वर्षको मुद्दा दर्तामा १६ प्रतिशत आत्महत्यासम्बन्धी मुद्दा रहेका छन् । २०७८ सालको जनसंख्याका आधारमा कुल जनसंख्याको ०.०१ प्रतिशत व्यक्तिले आत्महत्याको प्रयास गरेको कहलीलाग्दो तथ्यांक प्रहरीको रहेको छ । त्यस्तै ९० प्रतिशत घटना मानसिक स्वास्थ्य समस्याका कारण सो निर्णय लिन बाध्य भएको पाइन्छ । ९० प्रतिशत नै मानिसले संकेत दिने गरेको प्रहरीको अध्ययन रहेको छ । सँगै आत्महत्याको प्रयास गर्नेको तथ्यांक पनि डरलाग्दो छ । नेपालमा आत्महत्या बढ्नुको कारण मानसिक स्वास्थ्य समस्या, पारिवारिक कलह, घरेलु हिंसा, आर्थिक दबाब, सामाजिक सञ्जालको प्रभाव, अपरिपक्व प्रेम, शैक्षिक तनाव, विषादीजस्ता घातक साधनको सजिलो पहुँच मुख्य कारण मानिएको छ ।

न्यूनीकरणका लागि भएका प्रयास

विश्व स्वास्थ्य संगठनले यसलाई रोक्न सकिने समस्या भन्दै समुदायमा चेतना, सेवामा सजिलो पहुँच, घातक साधन नियन्त्रण र संवेदनशीलतामा जोड दिएको छ । नेपालले पनि मानसिक स्वास्थ्य नीति, हेल्पलाइन, काउन्सिलिङ, विषादी व्यवस्थापनमार्फत रोकथामका प्रयास अघि बढाएको छ ।

आत्महत्या रोकथामलाई सार्वजनिक स्वास्थ्यको विषय मानेर जनस्तरमै सचेतना, समयमै पहिचान उपचार र उच्च जोखिममा रहेका व्यक्तिको विशेष सुरक्षा गर्नुपर्नेमा जोड दिइएको छ । साथै विषादी, बन्दुक वा जोखिमयुक्त स्थलमा सहज पहुँच नहोस् भनेर कडाइ गरिन्छ । मिडिया गाइडलाइनअनुसार समाचारमा आत्महत्याको विधि वा स्थानको विस्तृत विवरण नदिने, बरु सहयोगका स्रोत र हेल्पलाइनबारे जानकारी दिने प्रचलन अपनाइन्छ ।

समुदायमा आधारित कार्यक्रममार्फत स्वास्थ्यकर्मी, शिक्षक, सामाजिक अगुवालाई तालिम दिई विद्यालय तथा कलेजस्तरका कार्यक्रम, हेल्पलाइन सञ्चालन र प्रभावित परिवारलाई सहयोग पु¥याइनेछ । चिकित्सकीय तथा मनोसामाजिक उपचारमा जोड रहेको छ । समग्रमा आत्महत्या रोकथामका लागि स्वास्थ्य, समाज, कानुन, शिक्षा र सञ्चार सबै क्षेत्रलाई एकीकृत गर्दै बहुस्तरीय उपाय अपनाउनुपर्नेमा जोड दिएको छ ।

आत्महत्या रोकथाम केवल व्यक्ति वा समुदायको मात्र जिम्मेवारी नभएर यसमा सरकारको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । उल्लिखित तथ्यांकहरूले यसको जटिलता र अत्यावश्यकतालाई स्पष्टरुपमा देखाएको छ । मानसिक स्वास्थ्य सेवाहरुलाई अझ पहुँचयोग्य बनाउने, घटना न्यूनीकरण गर्न राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने र मानिसहरुलाई सहयोग खोज्न प्रोत्साहित गर्ने कदमहरू अत्यावश्यक छन् । त्यसै गरी, शैक्षिक पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान समावेश गर्नुका साथै सामाजिक तथा आर्थिक सुरक्षामा आधारित कार्यक्रमलाई समुदायमा प्रवद्र्धन गर्न सकियो भने जोखिममा रहेका व्यक्तिहरूका लागि अझ सुरक्षित र सहयोगी वातावरण निर्माण गर्न सकिन्छ ।

हामीले के गर्न सक्छौँ ?
एउटा बुझ्नुपर्ने मूल कुरा, आत्महत्या गर्ने सबै मानिस मर्न चाहँदैनन्, तिनीहरू केवल आफ्नो समस्या र पीडाबाट बाहिर निस्कन चाहन्छन् । तिनीहरू केवल आफू अलपत्र परेको महसुस गर्छन् वा अब उनीहरूले गर्न सक्ने केही छैन र उनीहरू आत्महत्यालाई समाधानको रूपमा रोज्न बाध्य छन् । त्यसैले हामी सहयोगी वातावरण निर्माण गर्न सक्षम भयौँ र प्रत्येक व्यक्तिले मद्दत खोज्न सक्षम महसुस ग¥यो भने आत्महत्याको दर कम गर्न सकिन्छ ।

यदि कसैलाई कुनै समस्या वा आत्महत्यासम्बन्धी विचारबाट संघर्ष गरिरहेको देखियो भने सबैभन्दा पहिलो उपाय भनेको उनीहरूलाई आफ्ना विचार र समस्या नडराई खुलारूपमा व्यक्त गर्न सक्ने सुरक्षित र सहयोगी वातावरण उपलब्ध गराउनु हो । उनीहरुको भनाइलाई धैर्यपूर्वक सुन्ने र सहानुभूतिपूर्वक समर्थन गर्नुका साथै तपाईं उनीहरूलाई मनोचिकित्सक, क्लिनिकल साइकोलोजिस्ट वा थेरापिस्टजस्ता विशेषज्ञको सहयोग लिन प्रोत्साहन गर्न सक्नुहुन्छ ।
यदि तपाईं स्वयंले यस्तो विचारको अनुभव गर्दै हुनुहुन्छ भने, याद राख्नुहोस्– हरेक जीवन महत्वपूर्ण छ र तपाईं एक्लो हुनुहुन्न । तपाईं आफ्ना विश्वसनीय साथी, परिवार, सहकर्मी वा शिक्षकहरुसँग कुरा गर्न सक्नुहुन्छ वा विशेषज्ञको सहयोग पनि लिन सक्नुहुन्छ । साथै सरकारद्वारा सञ्चालित निःशुल्क हेल्पलाइन नम्बरहरूमा सम्पर्क गरी प्राथमिक तथा गोप्य सहयोग पाउन पनि सक्नुहुन्छ ।

निष्कर्ष
आत्महत्याका घटनाले एउटा कुनै अमुक व्यक्तिको ज्यान जाने मात्रै होइन, यसले बाँचेका परिवारका सदस्य र सिंगो समाजलाई पीडा दिइरहेको हुन्छ । मर्ने त मरेर जान्छ नै, बाँच्नेहरुले त्यसको पीडा जीवनभर सहनुपर्छ । समाजमा विकृतरुपमा जरा गाड्दै गएको आत्महत्याको घटनालाई न्यूनीकरणमा सहकार्य गर्नु हरेक नागरिकको दायित्व हो । न्यूनीकरणका निम्ति सरकार, प्रहरी, विभिन्न निकाय तथा संस्थाहरूको सामूहिक प्रयास भए तापनि आत्महत्याको घटनाको तथ्यांक गम्भीर छ । यसको प्रमुख कारण हाम्रो समाजमा गहिरोरूपमा जरा गाडेर बसेको अन्धविश्वास पनि एक हो । कुनै व्यक्तिमा मानसिक समस्या देखिए उसले सहायता माग्नुलाई कमजोरीको रुपमा लिने र मानसिक स्वास्थ्यलाई लाज एवं घृणाको दृष्टिकोणले हेर्ने प्रवृत्ति छ, हाम्रो समाजमा । यस्तो धारणा घातक भएकाले समाजमा त्यस किसिमको धारणा परिवर्तन गर्नु हामी सबैको कर्तव्य हो । तसर्थ अब सबै पक्ष मिलेर आत्महत्याको कथालाई बदल्दै साहसी समाज निर्माण गर्नेतर्फ पहल गर्नुपर्छ । मञ्जुलको गीत ‘संघर्ष हो जीवन जीवन संघर्ष, जीवनदेखि थाकेर बस्छु नभन जीवनदेखि हारेर मर्छु नभन…’ वास्तवमै यथार्थपरक छ ।
(लेखक श्रेष्ठ मनोविज्ञानकी विद्यार्थी हुनुहुन्छ ।)