जेनजी आन्दोलन : नागरिक अगुवाहरूको शान्ति र संवादका लागि संयुक्त अपिल


काठमाडौँ । जेनजी पुस्ताको आन्दोलन चर्किँदै गएको बेला नागरिक अगुवाहरूले हिंसात्मक गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण समाधानका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्वमुख्य सचिव मीनबहादुर रायमाझी, पूर्वसचिवहरूसहित १२ जना प्रतिष्ठित व्यक्तिहरूको तर्फबाट चरण प्रसाईँले मंगलबार संयुक्त अपिल जारी गरेका हुन्।

अपिलमा भनिएको छ, “भदौ २३ गतेको घटनापछि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न भागमा व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र व्यक्तिमाथि भएका आक्रमण गम्भीर चिन्ताको विषय बनेका छन्। व्यवस्थापिका संसद्, न्यायपालिका, कानुन कार्यान्वयन निकाय, व्यापारिक प्रतिष्ठान र सञ्चारमाध्यमका संरचनामाथिका आक्रमणले कुनै समाधान ल्याउन सक्दैन।”

नागरिक अगुवाहरूले नेपाल शान्तिप्रिय देश भएको उल्लेख गर्दै निरन्तर हिंसाले राजनीतिक निकास नदिने स्पष्ट पारेका छन्। उनीहरूको भनाइमा, बदलाको भावना होइन, रचनात्मक राजनीतिक संवाद र सहमतिबाट मात्रै मुलुकलाई संकटबाट निकास दिन सकिन्छ।

अपिलमा हालैको घटनामा २० जना युवाको मृत्यु भएको भन्दै मुलुक शोकमा रहेको उल्लेख छ। उनीहरूले निष्पक्ष छानबिनमार्फत दोषीमाथि कडा कारबाही गर्न र दण्डहीनताको अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन्। “यसका लागि पनि शान्तिपूर्ण वातावरण अपरिहार्य छ,” अपिलमा भनिएको छ।

नागरिक अगुवाहरूले जेनजी पुस्ताको सामाजिक सञ्जाल नियन्त्रण, नाताबाद–कृपाबाद, कुशासन र भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै, हिंसा र तोडफोडको बाटो तत्काल त्याग्न अपिल गरेका छन्। “देशमा शान्ति कायम राख्नु सबै नागरिकको कर्तव्य हो,” उनीहरूले भनेका छन्।

संयुक्त अपिलमा हस्ताक्षर गर्नेहरूमा मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशिला कार्की, केदारभक्त माथेमा, विरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक, कृष्ण खनाल, कृष्ण पोख्रेल, हरि शर्मा, मोहना अन्सारी र चरण प्रसाईँ रहेका छन्।