न्युयोर्क, (एजेन्सी)
बेलारुसकी एरिना सबालेन्काले यूएस ओपन टेनिस प्रतियोगिताको वुमेन्स सिंगल्स उपाधि जितेकी छन् । आइतबार भएको फाइनल खेलमा सबालेन्काले अमेरिकी खेलाडी अमान्डा एमिसीमोभालाई ६–३, ७–६ ले हराएकी हुन् । योसँगैं उनले उपाधि रक्षा गरिन् । पछिल्लो १० वर्षमा उनी यूएस ओपनमा उपाधि रक्षा गर्ने सेरेना विलियम्सपछिको दोस्रो खेलाडी बनिन् । यसअघि अमेरिकाकी सेरेनाले २०१४ मा उपाधिको रक्षा गरेकी थिइन् । २०१५ देखि २०२३ सम्म लगातार वर्षमा भिन्न भिन्न खेलाडीले उपाधि जितेका थिए ।
सबालेन्काको यो चौथो ग्रान्डस्लाम उपाधि हो । उनले अस्टे«लियन ओपन र यूएस ओपन दुई–दुई पटक जितेकी हुन् । उनले वर्षमा हुने चार ग्रान्डस्लाम टेनिसअन्तर्गत् अरु दुई प्रतियोगितामा भने उपाधि जित्न सकेकी छैनन् । उनी यसै वर्षको फ्रेन्च ओपनको फाइनलमा पुगिन् । तर, उनी अमेरिकी खेलाडी कोको गौफसँग पराजित भइन् । विम्बल्डनमा भने उनी फाइनलमा पुग्न सकेकी छैनन् । उनी २०२१, २०२३ र २०२५ मा गरी तीन पटक सेमिफाइनलबाटै बाहिरिएकी थिइन् ।
एमिनिमोभाको भने यो लगातार दोस्रो ग्रान्डस्लाम फाइनल हो । उनी यसअघि विम्बल्डनको फाइनलमा पुगेकी हुन् तर, उनी पोल्यान्डकी इगा स्वियाटेकसँग ६–०, ६–० ले हारिन् । तर, सोही प्रतिद्वन्द्वी खेलाडी स्वियाटेकलाई हराएर उनी यस यूएस ओपनको फाइनलमा पुगिन् । तर, उनले फाइनलमा सबालेन्काको चुनौती पार गर्न सकिनन् ।











प्रतिक्रिया