लन्डन, (एजेन्सी)
विश्वकप २०२६ अन्तर्गत युरोपेली छनोट खेलमा पोर्चुगलले अर्मेनियाविरुद्ध ५–० को जित निकालेको छ । यो जितमा दुई गोलको योगदान गर्दै पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उनको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ४० मा पु¥याए । यो पोर्चुगलको डिएगो जोटाको निधनपछिको पहिलो अन्तर्राष्ट्रिय खेलसमेत हो । जोटाको गत जुलाईमा कार दुर्घटनामा निधन भएको थियो । जसमा उनका खेलाडी भाइको पनि निधन भएको थियो ।
खेलको १० औं मिनेटमा जोआयो फेलिक्सले गोल गरे भने रोनाल्डोले २१ औं मिनेटमा गोल गर्दै २–० को अग्रतामा पु¥याए । संजोगवस रोनाल्डोले गोल गरेको समय र जोटाले लगाएको जर्सी अंकको मेल भएको थियो । यसै सन्दर्भमा प्रशिक्षक रोबर्टो मार्टिनेजले २१औं मिनेटमा रोनाल्डोले गरेको गोललाई जोटासँग जोड्दै भने– ‘२१ अंक उसको जर्सी नम्बर थियो, त्यसैले त्यो गोल उसलाई समर्पित भयो ।’
यस्तै, जोआयो क्यान्सेलोले गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ३–० को अग्रता बनायो । दोस्रो हाफमा रोनाल्डो (४६ औं मिनेट) र फेलिक्स (६१ औं मिनेट) ले एक–एक गोल थप्दा पोर्चुगलको शानदार जित संभव भएको थियो । समूह एफ को अर्को खेलमा हंगेरी र गणतन्त्र आयरल्यान्डले २–२ बराबरी खेल्दा पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।
हालसम्म पोर्चुगलका लागि खेलेका खेलहरूमा रोनाल्डोले कुल १ सय ४० गोल गरेका हुन् । साथै, उनको कुल करियर गोलसंख्या ९ सय ४२ मा पुगेको छ । विश्वकप छनौटमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी बन्नका लागि रोनाल्डोलाई अब मात्र दुई गोलको आवश्यक छ ।
उनको उत्कृष्ट लयलाई हेर्ने हो यही साता उनी उक्त रेकर्ड पनि तोड्न सक्ने अवस्थामा छन् । रोनाल्डो हाल बढीभन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेर कीर्तिमानतर्फ अघि बढिरहेका छन् । ४० वर्षको उमेरमा पनि निरन्तर प्रदर्शन गरिरहेका रोनाल्डो १ हजार करियर गोलको कोसेढुंगा हासिल गर्ने दिशामा अग्रसर छन् ।
अन्य नतिजा
समूह के अन्तर्गत् खेलमा सर्बिया र इंग्ल्यान्डले जित हासिल गरेका छन् । सर्बियाले लात्भियालाई १–० ले हरायो भने इंग्ल्यान्डले एन्डोरालाई २–० ले हराएको थियो । यस्तै, समूह एच को खेलमा बोस्निया हर्जगोभिनाले सान मारिनोमाथि ६–० को फराकिलो जित हासिल गरेको थियो ।











प्रतिक्रिया