इन्द्रजात्रा (येंयाः) केवल जात्रामात्र होइन, यो धार्मिक आस्था, ऐतिहासिक परम्पराको निरन्तरता र सामाजिक सहअस्तित्वको जिउँदो प्रतीक हो । साथै नेवाः सभ्यताको धार्मिक, सांकृतिक एवम् पहिचानलाई प्रस्तुत गर्ने अद्वितीय माध्यम पनि हो । यस पर्वमा इन्द्रध्वज (योसिं) उठाउनेदेखि जीवित देवी कुमारीको रथयात्रा, पुलुकिसी र श्वेत भैरवको दर्शनजस्ता जीवित संस्कृतिका विविध अभ्यास समेटिन्छन् ।
किंवदन्तीअनुसार, देवताका राजा इन्द्रकी आमा र मानव लोकका नेवार समुदाय अर्थात् देवता र मानवबीच विशेष सन्धि भयो । सोही बेलादेखिको वर्षा, समृद्धि र सामाजिक मेलमिलापको प्रतिबिम्ब अहिले पनि देख्न सकिन्छ । लिच्छविकालदेखि (करिब तेस्रो शताब्दी)देखि निरन्तर चल्दै आएको यो जात्रामा राज्य र समाजबीचको सम्बन्ध सेतुलाई पनि जीवन्त राखेको छ ।
साथै यसलाई ‘नेपालको जीवित संग्रहालय’ पनि भन्न सकिन्छ । विश्व पर्यटन बजारमा ‘अनुभव’ को माग बढ्दै गएको अवस्थामा, इन्द्रजात्रालाई एक प्रमुख धार्मिक–सांस्कृतिक पर्यटन उत्सवको रूपमा ‘ब्रान्डिङ’ गर्नु नेपालको लागि ऐतिहासिक अवसर हुनसक्छ । त्यसतर्फ पनि अब हामीले किन नसोच्ने ? काठमाडौं उपत्यकाको सम्भ्यतालाई विश्व परिवेशमा अझ् परिस्कृत र समय सापेक्ष किन नबनाउने ? भन्ने सन्दर्भमा फेरि एकपटक बहस गर्नु जरुरी छ ।
अर्थतन्त्रसँग किन जोड्ने ?
इन्द्रजात्राको विश्वव्यापी ब्रान्डिङ गर्दै धार्मिक, सांस्कृृति एवम् सम्पदाप्रेमी पर्यटकलाई आकर्षित गर्नुपर्ने विषयलाई जोड दिँदै गर्दा मनन गर्नुपर्ने ‘धर्म बेच्ने होइन, अनुभव मूल्यांकन गर्ने’ तर्फ पनि सचेत हुन जरुरी छ । तीव्र आर्थिकीकरणले संस्कृतिलाई नष्ट नगर्ने गर्ने खतराबाट जोगिनुपर्छ । तथापि, धार्मिक महत्वलाई जोगाउँदै अर्थतन्त्रसँग ‘कनेक्सन’ गर्ने रणनीति पनि महत्वपूर्ण पक्ष हो ।
नेपाललाई पहिचान दिने आधार भनेकै प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक विविधता र जीवित सम्पदा हुन् । इन्द्रजात्राजस्ता जीवित परम्पराले नेपाललाई अन्य मुलुकभन्दा फरक बनाउँछ । यसलाई धार्मिक पर्यटनमार्फत् अन्तर्राष्ट्रिय बजारमा उतार्दा नेपालले मौलिक ब्रान्डिङ पाउँछ ।
धार्मिक पर्यटनको मुख्य आधार आस्था, श्रद्धा र सांस्कृतिक सम्मान हो । यसले उत्सवलाई मनोरञ्जनको वस्तु बनाउनुको सट्टा एउटा ‘जिउँदो धार्मिक अनुभव’को रूपमा प्रस्तुत गर्छ । पर्यटकहरू दर्शकमात्र होइनन्, सम्मानित अतिथि हुन्छन्, जसले गर्दा उत्सवको पवित्रता र मौलिकतामा हस्तक्षेप हुँदैन । सांस्कृतिक अखण्डताको संरक्षणले उत्सवका धार्मिक र अनुष्ठानगत पक्षलाई सबैभन्दा माथि राख्छ । पर्यटकहरूलाई नियम सिकाएर, उनीहरूलाई स्थानीय संस्कृतिको सम्मान गर्ने रूपमा संलग्न गराइनुपर्छ । जस्तै केही क्षेत्रमा फोटो खिच्न नपाउने, विशेष अनुष्ठानमा सहभागी नहुने, आदि हुनसक्छन् ।
संसारकै ठूला धार्मिक एवम् सांस्कृतिक उत्सवहरू (भारतको कुम्भमेला, स्पेनको सेमानासान्ता, जापानको गिओन मात्सुरी आदि) धार्मिक पर्यटनकै आधारमा स्थानीय अर्थतन्त्रसँग जोडिएका छन् । यसले पर्यटन मात्र होइन, होटल, यातायात, हस्तकला, खाद्य उद्योग सबैलाई रोजगारी र आय वृद्धि गरेको छ । इन्द्रजात्राको मूल सारसँग पनि मेल खान्छ । यो पनि एउटा धार्मिक उत्सव हो, जसको केन्द्रमा देवता, पूजा, आस्था र परम्परा रहेको हुन्छ । सांस्कृतिक पर्यटनको रूपमा पनि प्रस्तुत गर्न सकिन्छ । तर, त्यो धार्मिक पर्यटनभन्दा फरक हुन्छ । सांस्कृतिक पर्यटनले कला, संगीत, खानापान र रीतिरिवाजलाई प्राथमिकता दिन्छ ।
धार्मिक यात्रुहरू र धार्मिक पर्यटकहरू आम पर्यटकभन्दा फरक हुन्छन् । उनीहरू उत्सवको पूर्ण अनुभव लिन चाहन्छन्, जसका निम्ति नेपाल आउने पर्यटकको औसत बसाइँभन्दा लामो अवधि हुनसक्छ । जसले गर्दा होटल, होमस्टे, रेस्टुरेन्ट आदिमा व्यापार वृद्धि हुनेछ । उनीहरू कथा, इतिहास, धर्म र दर्शन बुझ्न चाहन्छन्, जसले गर्दा गाइड र स्थानीयको लागि रोजगारी सिर्जना हुन्छ ।
आस्थाको भावनाले जोडिएका यात्रुहरूले यात्रा, बसाइ, दान, दक्षिणा र स्मृति चिह्नमा उच्च खर्च गर्न तयार हुन्छन् । कुम्भ मेला वा मक्काजस्ता धार्मिक स्थलहरूको अर्थतन्त्र यसको ज्वलन्त उदाहरण हो । त्यसकारण, धार्मिक पर्यटन नै त्यो सही श्रेणी हो जसले इन्द्रजात्राको ‘मूल धर्म’ लाई बेवास्ता नगरी, यसको आकर्षण कला, संस्कृतिलाई पर्यटनसँग जोड्छ । इन्द्रजात्राको मौलिकता र श्रद्धालाई जोगाउँदै नेपालले अन्तर्राष्ट्रिय बजारमा ‘सांस्कृतिक–धार्मिक पर्यटनको गन्तव्य’ भनेर पहिचान बनाउन सक्छ ।
अन्तर्राष्ट्रिय अभ्यास
धार्मिक पर्यटन विश्वको सबैभन्दा पुरानो र स्थायी पर्यटन प्रकारमध्ये एक हो । विश्वभरि यसको अभ्यासले केवल आस्थालाई मात्र होइन, स्थानीय अर्थतन्त्र र सांस्कृतिक आदानप्रदानलाई पनि केन्द्रमा राख्छ । धार्मिक पर्यटन अहिले विश्वकै ठूलो पर्यटन प्रवाहमध्ये एक हो । हरेक महाद्वीपमा यसको भिन्न अभ्यास छ । विश्वका विभिन्न देशले आफ्ना सांस्कृतिक उत्सवलाई केवल धार्मिक अनुष्ठान होइन, आर्थिक उत्प्रेरकका रूपमा प्रयोग गरेका छन् । जसमध्ये केही प्रमुख मानिन्छ ।
कुम्भमेला (भारत) : प्रयागराज सन् २०२४ को कुम्भमेलाले करिब १ दशमलव २३ लाख करोड भारतीय रुपियाँ बराबर आर्थिक प्रभाव पारेको अध्ययनले देखाएको छ । उच्च व्यवस्थापन र पर्यटन प्याकेजिङ यसको आधार हो । विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सव हरेक १२ वर्षमा चार फरक सहर (प्रयागराज, हरिद्वार, उज्जैन, नासिक) मा आयोजना हुने हिन्दूहरूको विशाल तीर्थयात्रा हो । करोडौं तीर्थयात्रीले नदीमा स्नान गर्न जान्छन् । जसबाट ठूलो आर्थिक लाभ सिर्जना हुन्छ । धार्मिक उत्सवलाई सांस्कृतिक पर्यटन ब्रान्ड बनाउन सकिन्छ भन्ने यो महत्वपूर्ण उदाहरण हो ।
सेभिलको सेमानासान्ता (स्पेन) : धार्मिक यात्राले ३५० मिलियन बराबर आर्थिक गतिविधि उत्पन्न गरेको छ । ईस्टरअघि हुने ठूलो धार्मिक यात्रामा सहरभर परम्परागत पोशाक, संगीत, रथसहितको प्रदर्शन गरिन्छ । होटल, खानपान, हस्तकला, स्मारक भ्रमणमा पर्यटकद्वारा ठूलो खर्च हुने गरेको छ । धार्मिक कार्यक्रमलाई पर्यटकअनुकूल सांस्कृतिक शोमा परिणत गर्न सकिन्छ भन्ने यो बलियो उदाहरण हो ।
दिया दे लोस् मुयेरतोस (मेक्सिको) : सन् २०२३ मामात्र २.३ मिलियन आगन्तुकलाई आकर्षित गरेर ४ अर्ब पेसोभन्दा बढी खर्च आम्दानी ग¥यो । पारिवारिक कथामा आधारित ब्रान्डिङले यसलाई फरक बनाएको छ ।
गिओन मात्सुरी (जापान) : अमूर्त सम्पदामा सूचीकृत क्योटोको यो उत्सवको सांस्कृतिक आकर्षणको आदर्श बनेको छ । १ हजार वर्षभन्दा पुरानो उत्सव, जहाँ धार्मिक परम्परा र पर्यटन मिश्रित हुन्छ । यामाबोको जुनको परेडले गर्दा प्रसिद्ध यो उत्सवले परम्परागत जापानी संस्कृतिलाई प्रदर्शन गर्छ । यसले सांस्कृतिक पर्यटकहरूलाई ठूलो संख्यामा आकर्षित गर्छ र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ ।
लुर्डेस तीर्थयात्रा (फ्रान्स) : सन् १८५८ मा ‘भर्जिन मेरी’ देखा परेको भनाइअनुसार स्थापित तीर्थस्थल हो । वार्षिक ६० लाखभन्दा बढी भक्तजन तथा पर्यटक पुग्ने त्यहाँ उक्त तीर्थ यात्राले स्थानीय अर्थतन्त्रमा ५ अर्ब यूरोभन्दा बढी वार्षिक योगदान पु¥याउने गरेको छ ।
उल्लिखित तथ्यांक केही उदाहरण मात्रै हुन् । विश्वमा यस्ता कयौं धार्मिक पर्यटनहरू रहेका छन् । संयुक्त राष्ट्रसंघको विशेष एजेन्सी विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) को तथ्यांक अनुसार धार्मिक पर्यटनले विश्व पर्यटन बजारको २५ प्रतिशत हिस्सा ओगट्छ । वार्षिक ३ सयदेखि ३३० मिलियन मानिस धार्मिक यात्रामा निस्कने गर्दछन् । यसले होटल, यातायात, खानपान, हस्तकला, सम्पदा संरक्षणमा ठूलो योगदान पु¥याउँछ ।
पर्यटनसँग कसरी जोड्ने ?
ब्रान्डिङका लागि सबैभन्दा पहिले आफूसँग भएको चिजको मूल सार बुझ्नु जरुरी हुन्छ । इन्द्रजात्राको आकर्षण यसको बहुआयामिकता हो ।
यसको धार्मिक महत्व, ऐतिहासिक महत्व, सामाजिक एवम् राजनीतिक महत्व दर्शाउँदै यसका मुख्य आकर्षणहरूलाई थप प्रचार र समय सापेक्षशैलीमा प्रस्तुत गर्नुपर्छ । विशेषगरी इन्द्रध्वज (योसिं) उठाउने, कुमारीको रथयात्रा, श्वेत भैरवको मुख खोल्ने अवसर, लाखे नाच, पुलुकिसी नाच र अन्य परम्परागत नाचहरूलाई प्याकेजका रूपमा निर्माण गरी विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्छ । जसका निम्ति धार्मिक अनुभवलाई केन्द्रमा राखेर विकास गर्दा ‘येंया तीर्थयात्रा प्याकेज’, हेरिटेज वाक, विशेष दर्शन व्यवस्था, पारम्परिक भोज (नेवाः भ्वाय), आध्यात्मिक रिट्रिट, वैदिक र तान्त्रिक दर्शन आदि हुनसक्छन् ।
जसका निम्ति सरकार, संस्कृति मन्त्रालय, काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थान, इन्द्रजात्रासँग सम्बन्धित गुठी, समितिलगायत सरोकार पक्षको समन्वयमा विश्वस्तरीय ब्रान्डिङ र प्रवद्र्धनात्मक गतिविधि गर्नुपर्छ । जसमा इन्द्रजात्राको इतिहास, धार्मिक महत्व र किंवदन्तीलाई समेटेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा डकुमेन्ट्री प्रसारण गर्ने, डिजिटल आर्काइभअन्तर्गत ३६० डिग्री भर्चुअल टुर र फोटोग्राफीको ई–लाइब्रेरी बनाउने, जसलाई विश्वभरका शोधकर्ता, विद्यार्थी र पर्यटकहरूले अध्ययन गर्न सहजीकरण गर्ने, प्रमुख हिन्दु बहुल क्षेत्रहरूमा लक्षित मार्केटिङ अभियान चलाउने, आद्यात्मिक नेपाल ब्रान्डिङ गरी इन्द्रजात्रालाई नेपालको आध्यात्मिक गन्तव्यको छविसँग जोड्ने, पर्यटकअनुकूल पूर्वाधार, आरामदायी दर्शक ग्यालरी (मुख्य समारोह, रथयात्रा, नाच) हेर्नका लागि आरामदायी, सुरक्षित र सफा दर्शक ग्यालरीहरूको निर्माण गर्ने, बहुभाषिक सूचना प्रणालीको व्यवस्था, उच्च मूल्य तिरेर विशेष स्थानबाट समारोह हेर्ने वा फोटोग्राफी गर्ने सुविधा दिने, अनलाइन टिकेटिङको व्यवस्था गर्ने, सामुदायिक सहभागिता र आर्थिक न्यायलाई महत्व दिँदै नेवाः बस्तीमा होमस्टे प्रवद्र्धन गर्ने इन्द्रजात्राको प्याटेन्ट राइट दर्ता गरी यसको लोगोका रिसर्ट, टोपी, ज्याकेट आदिमा राख्नेदेखि मापनयोग्य लक्ष्य तय गर्ने हरेक वर्ष कति पर्यटक भित्र्याउने, उनीहरूको खर्चको औसत अनुमान निकाल्ने, स्थानीयबासीले कति कमाउने जस्ता लक्ष्य निर्धारण गरी स्थायी संयन्त्रमार्फत् निरन्तरता अनुगमन गर्नुपर्छ ।
इन्द्रजात्रालाई धार्मिक पर्यटनसँग जोड्नु भनेको एउटा सन्तुलित कला हो । यसको सफलताको लागि धार्मिक संवेदनशीलतालाई सर्वोच्च प्राथमिकता दिँदै, व्यावसायिक व्यवस्थापन, उत्कृष्ट सेवा, र सामुदायिक लाभको मिश्रण आवश्यक छ । योजनाबद्ध तरिकाबाट लक्ष्य तय गरेको इन्द्रजात्रा विश्वको धार्मिक पर्यटनको नक्सामा एउटा प्रमुख गन्तव्य बन्न सक्छ, जसले नेपाललाई आर्थिक लाभ दिनेछ र साथै यसको अमूल्य सांस्कृतिक धरोहरलाई सुरक्षित राख्नेछ ।
चुनौती
आस्था र आर्थिक लाभबीचको सन्तुलन कायम गर्नु कठिन कार्य हो । पर्यटनमा सम्मिलित गर्दा श्रद्धा र परम्परागत मूल्यहरूमा असर पर्न सक्छ । साथै अत्यधिक बाह्य पर्यटकलाई प्राथमिकता दिँदा स्थानीय समुदायको भावनामा चोट पुग्नसक्छ । काठमाडौंको भित्री भाग परम्परगत वस्ती तथा साँघुरो गल्लीका कारण भीड, फोहोर, यातायात र आपतकालीन व्यवस्था चुनौतीपूर्ण छ । त्यसबाहेक पुराना संरचना (दरबार, मन्दिर, रथ मार्ग) मा सुरक्षा जोखिम पनि त्यत्तिकै आउन सक्छ ।
स्थानीय गुठी, काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड र संघीय सरकारबीचको समन्वय र साझा रणनीतिमार्फत् एकीकृत नीतिका लागि अहिलेकै अवस्थामा कठिन देखिन्छ । जात्राका संरक्षण, व्यवस्थापन तथा प्रवद्र्धनमा पर्याप्त बजेट अभाव र कमजोर भौतिक पूर्वाधार तत्काल देखिएका चुनौती हुन् । तथापि, यी चुनौतीहरू केवल समस्या होइनन्, बरु समाधान गर्नुपर्ने क्षेत्रहरू हुन् । यी चुनौतीहरूको व्यवस्थापन गर्न सकिएमा मात्र इन्द्रजात्रा विश्वस्तरीय धार्मिक पर्यटनको एक सफल र दिगो उदाहरण बन्न सक्छ । नेपालले इन्द्रजात्रालाई केवल ‘हेर्ने जात्रा’ बाट ‘अनुभव गर्ने उत्सव’ मा रूपान्तरण गर्नुपर्छ ।
निष्कर्ष
इन्द्रजात्रा नेपालको पहिचान दिने सांस्कृतिक र धार्मिक सम्पदा हो । यसको संरक्षण केवल आस्थाको निरन्तरतामात्र होइन, नेपालको पर्यटन अर्थतन्त्रलाई नयाँ ढंगले उचाल्ने अवसर पनि हो । समुदाय केन्द्रित शासन, पारदर्शी राजस्व मोडल, अनुभवमा आधारित पर्यटन प्याकेज र आधुनिक प्रवद्र्धन संयोजन गर्न सकियो भने, इन्द्रजात्रा ‘नेपालको सांस्कृतिक ब्रान्ड एम्बेसडर’ बन्न सक्छ ।











प्रतिक्रिया