काठमाडौं ।
विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहान्स जत्त पाँच दिने औपचारिक भ्रमण सकेर नेपालबाट फर्किएका छन् । उनले भ्रमणका क्रममा अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री तथा नेपाल राष्ट्र बैंकका गर्भनरलगायतसँग भेटवार्ता गरेका थिए ।
जत्तले भने, ‘१० वर्षपछि नेपाल फर्किँदा शान्ति सुदृढीकरण, सेवा सुधार, लोडसेडिङ अन्त्य, २०१५ को भूकम्प र कोभिड महामारीपछिको पुनःस्र्थापनामा भएको प्रगति देख्दा खुसी लागेको छ ।
’ उनले थपे–“सरकार, निजी क्षेत्र र विकास साझेदारहरूसँगको छलफलमा कृषि,उद्योग, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा भएको उपलब्धि, आगामी सुधारको आवश्यकता, र ती उपलब्धि विस्तारमा विश्व बैंक समूहले गर्न सक्ने योगदानबारे छलफल हुनु सकारात्मक रह्यो ।”
उनले आफ्ना भेटवार्तामा नेपालको १६औँ योजनासँग पूर्ण रूपमा मेल खाने विश्व बैंक समूहको कन्ट्री पार्टनरसिप फ्रेमवर्कबारे जानकारी दिएका थिए । उक्त फ्रेमवर्कले नेपालका दुई मुख्य चुनौती—रोजगार सिर्जना र विपद् प्रतिरोधात्मक क्षमतालाई प्राथमिकतामा राखेको छ ।
विश्व बैंक समूहले २०२५ देखि २०३१ सम्मको अवधिमा करिब २.७ अर्ब अमेरिकी डलर उपलब्ध गराउने लक्ष्य लिएको छ। यसअन्तर्गत व्यवसाय वातावरण सुधारमार्फत प्रतिस्पर्धात्मकता र लगानी वृद्धि गर्ने, पर्यटन र डिजिटल विकासमा लगानी बढाउने, र रोजगारी सिर्जना गर्ने उद्देश्य राखिएको छ । उनले अगाडि भने–‘प्रत्येक वर्ष करिब ५ लाख युवा श्रम बजारमा प्रवेश गर्ने नेपालमा गरिबी निवारण र दिगो विकासलाई गति दिने रोजगारी सिर्जना अत्यन्तै जरुरी छ । हामी सरकार, उद्यमी तथा अन्य सरोकारवालाहरूसँग मिलेर सुधार र लगानी प्रवाहमार्फत रोजगारीमूलक विकासलाई अघि बढाउन केन्द्रित रहनेछौँ ।’











प्रतिक्रिया