काठमाडौं ।
घरजग्गा कारोबारमा उच्च गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२|८३ को पहिलो महिनामा देशभर ३१ हजार ६ सय कारोबार भएका छन्, जुन अघिल्लो वर्षको सोही महिनामा ४३ हजार ८ सयवटा कारोबार भएका थिए ।
साउन महिनामा काठमाडौं उपत्यकामा ३ हजारवटा मात्रै घरजग्गा किनबेच भएको छ । गत आवमा ५ लाख ९० हजारभन्दा बढी घरजग्गाको कारोबार भएको थियो । जग्गाको कित्ताकाट रोकिएको र स्थानीय तहले वर्गीकरण नगरेकाले घरजग्गाको कारोबारमा शिथिलता आएको हो ।
यसैबीच घरजग्गा कारोबार गर्न अब अनिवार्य लाइसेन्स लिनुपर्ने भएको छ । मालपोत नियमावली, २०३६ लाई आठौँपटकको संशोधनले सो व्यवस्था गरेको हो । एकपटकमा पाँच करोड रुपियाँसम्मको कारोबार गर्नेले पाँच लाख, पाँच करोडभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपियाँ दस्तुर तिरेर लाइसेन्स लिनु पर्नेछ । साथै हरेक वर्ष नवीकरण वापत चार लाखदेखि आठ लाख रुपियाँसम्म शुल्क बुझाउनुपर्ने छ । अघिल्लो वर्ष नै बजेटमार्फत लाइसेन्स प्रणालीको घोषणा भए पनि कानुनी व्यवस्था नहुँदा कार्यान्वयन हुन सकेको थिएन ।
त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणले अबदेखि व्यावसायिक जग्गा प्लटिङ गर्नुअघि अनिवार्य रूपमा योजना अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले अनुमति नलिई गरिने कित्ताकाटमा रोक लगाएको छ । अहिलेसम्म अनुमति नलिई विभाजन गरिएका करिब १ हजारभन्दा बढी जग्गामा रोक लगाइएको प्राधिकरणले जनाएको छ । योजना अनुमति लिएर प्लटिङ गरेमा कम्तीमा २० फिट फराकिला सडक बन्ने, ५ प्रतिशत अतिरिक्त जग्गा खाली राख्नुपर्ने छ । साथै काठमाडौं उपत्यकाभित्र ३० डिग्रीभन्दा बढी भिरालो जमिनमा घर निर्माण गर्न नपाइने कानुनी व्यवस्था गरिएको छ ।











प्रतिक्रिया