काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई कडा चेतावनी दिएका छन्। उनले भने– यदि भेनेजुएलाका लडाकु विमानहरूले अमेरिकी नौसेना जहाजहरूमाथि उडान गरी खतरा सिर्जना गरे भने ती विमानलाई गोली हानेर खसालिनेछ।
बीबीसीसँग सम्बन्धित सीबीएस न्यूजलाई अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार, भेनेजुएलाले लगातार दुई दिनसम्म अमेरिकी जहाज नजिकै आफ्ना सैन्य विमानहरू उडाएको थियो। त्यसपछि नै ट्रम्पले यस्तो बयान दिएका हुन्।
यसअघि, भेनेजुएलाबाट लागूपदार्थ बोकेको एउटा जहाज अमेरिकी सेनाको आक्रमणमा पर्दा ११ जनाको मृत्यु भएको थियो। उक्त जहाजलाई एक आपराधिक गिरोहले सञ्चालन गरेको भनिएको छ। तर, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले यी आरोप अस्वीकार गर्दै अमेरिकासँगको विवादको समाधान सैन्य मार्ग नभई संवादबाट खोजिनुपर्ने बताएका छन्।
यसैबीच, ह्वाइट हाउसले शुक्रबार अमेरिकाले प्युर्टो रिकोमा १० वटा एफ–३५ लडाकु विमान पठाउने तयारी गरेको घोषणा गरेको छ।
ट्रम्प लामो समयदेखि मादुरोको कट्टर आलोचक रहँदै आएका छन्। गत अगस्टमा उनले मादुरोलाई पक्राउ गराउने सूचनाको पुरस्कार दोब्बर बढाएर ५ करोड डलरसम्म पुर्याएका थिए। साथै उनले मादुरोलाई “विश्वका सबैभन्दा ठूला लागूऔषध तस्करमध्ये एक” भएको आरोप समेत लगाएका छन्।-बीबीसीबाट











प्रतिक्रिया