स्पोर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक


काठमाडौं ।

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्र्तगत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिबार अवार्डका लागि चार विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा वर्ष प्रशिक्षकमा उत्कृष्ट ५–५ जनाको मनोनयन गरिएको छनोट समितिले जनाएको छ ।

वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खोका जनक चन्द मनोनयनमा परे । महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परे ।

वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त सफलता र उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन गरिएको हो । वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् ।