सुआरेजलाई ६ खेलमा प्रतिबन्ध


न्युयोर्क, (एजेन्सी)

अमेरिकी मेजर लिगको इन्टर मायामीका फरवार्ड लुइस सुआरेजलाई ६ खेलका लागि प्रतिबन्ध गरिएको छ । गत लिग कप फाइनलमा हारेको खेलमा उनले सिएटल साउन्डर्सका पदाधिकारीलाई थुकेको कारण उनलाई यो कारबाही गरिएको हो ।

३–० ले हारेको उक्त खेलको अन्तिम सिठी बजेपछि सुआरेज विपक्षी टोलीका खेलाडीतिर गएका थिए । त्यहाँ उनले साउन्डर्सका मिडफिल्डर ओबेद भार्गासको गर्दन समातेका थिए । यसपछि उनका टिम साथी खेलाडी सर्जिओ बुस्केटले भार्गासको चिउँडोमा मुक्का हिर्काएका थिए ।

यसको केही क्षणपछि सुआरेज साउन्डर्सका पदाधिकारीसँग विवाद गर्न लागे । त्यही नै उनले साउन्डर्सका सुरक्षा निर्देशक जेने रामिरेजको अनुहारमा थुकेका थिए । यो घटनाले विश्वका उत्कृष्ट स्ट्राइकर लियोनेल मेसीसहित टोली लज्जित हुनु परेको पनि बताइएको थियो ।

उरुग्वेका ३८ वर्पीय पूर्व खेलाडी सुआरेजले यस घटनापछि इन्स्टाग्राममा विज्ञप्ति निकालेर माफी माँगेका थिए । यसअघि प्रिमियर लिग क्लब लिभरपुर र ला लिगा क्लब बार्सिलोनाबाट खेलिसकेका सुआरेज यस्ता घटनामा संलग्न भएको यो पहिलो पटक होइन । यसअघि सन् २०११ मा उनी लिभरपुलमा हुँदा उनलाई ८ खेलमा प्रतिबन्ध गरिएको थियो । त्यतिबेला उनले म्यानचेस्टर यूनाइटेडका पेट्रिक इभरामाथि रंगभेदको गाली गरेका थिए । यस्तै, उरुग्वे, लिभरपुल र आयक्सबाट खेल्दा विपक्षी खेलाडीलाई टोकेको हुनाले उनी प्रतिबन्ध भएका थिए ।