एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको अफिसियल होटल पार्टनरमा मझेरी


काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २२औं संस्करणका लागि अफिसियल होटल पार्टनरमा मझेरी रिसोर्ट तथा स्पासँग प्रायोजन सम्झौता गरेको छ ।

पल्सर स्पोट्र्स अवार्ड यही भदौ २९ गते पर्यटनको राजधानी पोखरामा हुनेछ । काठमाडौंमा हुँदै आएको यस अवार्ड कार्यक्रम पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो । त्यसैले अवार्ड कार्यक्रममा उपस्थित अतिथिहरूको आवासको प्रवन्ध गर्न पोखरा लेकसाइडमा रहेको मझेरीसँग सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र होटल मझेरी रिसोर्टका अध्यक्ष अर्जुन खनालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अवार्डका दौरान मञ्चको सचिवालय होटल मझेरीमै रहनेछ । साथै अवार्डमा पोखराबाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रवन्ध मझेरी रिसोर्टले प्रदान गर्नेछ ।

मझेरीका अध्यक्ष अर्जुन खनालले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘राजधानीबाहिर पहिलोपटक हुने अवार्डमा आफ्नो रिसोर्टले सेवा दिन पाउनु गर्वको विषय हो । यो अवार्डलाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व हो । त्यसमा पनि मझेरीको विशेष साथ रहने विश्वास दिलाउन चाहन्छु ।’ मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ को तयारी तीव्र गतिमा भइरहेको जनाइएको छ ।

नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम हो पल्सर स्पोट्र्स अवार्ड । हरेक वर्ष हुने भएकाले मुख्यतः खेलाडीले अघिल्लो वर्षभर गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिँदै आइएको छ । यस वर्ष पनि २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र तिनलाई सफलतासम्म डोर्याउने प्रशिक्षकको सफलतामा आधारित भएर अवार्ड प्रदान गरिने छ ।

अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ रहनेछ । स्पोट्र्स अवार्ड प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ भने भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्सलगायत छन् ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेको छ ।

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ । पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।