सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व र गलत : डिला संग्रौलाको


काठमाडौं।

नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले सरकारले फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अपरिपक्व र गलत भएको बताएकी छन्।

उनले यस्तो कदमले नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने र नागरिक सूचना पाउने अधिकारबाट वञ्चित हुने टिप्पणी गरिन्।

“आजको २१औं शताब्दीमा सामाजिक सञ्जाल हाम्रो जनजीवनको अभिन्न अंग बनेका छन्। यसले आम जनसमुदायलाई सशक्त बनाएको छ। अनुगमनका लागि संयन्त्र र कानून भएका बेला हठात् सामाजिक सञ्जाल बन्द गर्नु उपयुक्त छैन,” संग्रौलाले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनले हाल राष्ट्रिय सभामा विचाराधीन विधेयकमाथि छिटो छलफल गरी आवश्यक कानून बनाउनुपर्नेमा जोड दिँदै पर्याप्त छलफल विना गरिएका निर्णयले सरकारकै छविमाथि धक्का पुग्ने चेतावनी दिइन्।

“गठबन्धन सरकार सञ्चालन गर्दा सबै दलहरूसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने हुन्छ। त्यसैले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ,” नेतृ संग्रौलाको भनाइ छ।