काठमाडौं।
नेपाल र बङ्गलादेशबीच हुने दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
खेलहरू फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत आगामी भदौ २१ र २४ गते (सेप्टेम्बर ६ र ९) का दिन साँझ ५ः३० बजे काठमाडौंको दशरथ रंगशालामा आयोजना हुनेछन् । एन्फाका अनुसार दुबै खेलको समग्र नतिजा बराबरी भएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटको माध्यमबाट विजेता टोली निर्धारण गरिनेछ। विजेता टोलीलाई ट्रफी प्रदान गरिनेछ ।
एन्फाले खेलको टिकट व्यवस्थापनको सम्पूर्ण अधिकार आफ्नै स्वामित्वमा राखेको छ। भिआइपी टिकटको मूल्य १ हजार रुपैयाँ र सामान्य टिकट ५ सय रुपैयाँ निर्धारण गरिएको छ । टिकट ‘खल्ती’ डिजिटल वालेटमार्फत अनलाइन खरिद गर्न सकिनेछ । खेलका दिनहरूमा दशरथ रंगशालाका सबै गेट खुला रहनेछन् । प्रत्येक दर्शकले आफ्नो टिकटमा उल्लेखित गेटबाट प्रवेश गर्नुपर्नेछ र टिकटको रङ अनुसार निर्धारित सिटमा बस्नुपर्नेछ ।
खेलका लागि बङ्गलादेशको राष्ट्रिय टोली बुधबार काठमाडौं आइसकेको छ । टोलीलाई अभ्यासका लागि नेपाली सेनाको भद्रकालीस्थित खेलमैदान र ललितपुरको च्यासल रंगशाला उपलब्ध गराइएको छ । प्रतियोगिताको अनुमानित बजेट एक करोड २७ लाख ५८ हजार १६८ रुपैयाँ रहेको एन्फाले जनाएको छ ।











प्रतिक्रिया