खेल राम्रो भएपनि नेपाल पराजित


काठमाडौं।

ताजकिस्तानमा भएको पुरुषतर्फको एएफसी यू २३ एसियन कप छनोटमा नेपालको सुरुआत हारबाट भएको छ । पूर्व फुटबलर नवीन न्यौपानको नेतृत्वमा रहेको नेपाली टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको हो ।

यो हारले नेपालको यू २३ एसियन कपमा छनोट हुने संभावनामा दवाब बढेको छ । यदि, अर्को खेलमा पनि पराजित भएमा नेपालको छनोट हुने सम्भावना सकिनेछ । नेपालले शनिबार सिरियासँग खेल्नेछ । यो खेल साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ । सिरियाले भने आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २–१ ले पराजित गरेर एसियन कपमा छनोट हुने आसलाई जिवीतै राखेको छ ।

बुधबार दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न समूह ‘के’ खेलमा घरेलु टोलीका लागि फरवार्ड अजिजबोएभ मुहम्मादालीले दुई तथा रक्षक रहमात्शोह रमात्जोदा र मिडफिल्डर देलर शारिपोभले समान एक गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता लिएको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
यस खेलमा फ्लडलाइटको समस्या उत्पन्न भएको थियो । अन्त्यतिर फ्लडलाइटमा समस्या आएपछि खेल केही बेर रोकिएको थियो । त्यतिबेला नेपाल २–० ले पछि रहेको थियो । खेल पुनः सुचारु भएपछि नेपालले थप दुई गोल बेहोरेको थियो ।