बुटवल।
विगत एक साता देखि स्वास्थ्य बिमा बोर्डको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पटक–पटक सर्भर डाउन हुने समस्याले सेवाग्राही उपचार सेवाबाट बञ्चिन हुनु परेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सेवा लिन आउने हजारौं सेवाग्राहीले यसको समस्या झेल्नु परेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–५, भैसाहीबाट बुधबार बिहान ५ बजेनै उठेर अस्पतालमा आएकी ५९ वर्षीया ईश्वरी रेग्मी दिउँसो २ बजेसम्म पनि बिल काट्न नपाउँदा काउन्टर अगाडि प्रतीक्षामै छटपटिरहेकी थिइन् । हात–खुट्टा झमझमाउने, आँखा दुख्ने तथा खोकी लाग्ने समस्या देखिएपछि स्वास्थ्य बिमाको कार्ड बोकेर बिहान ६ बजेनै टोकन लिन लाइनमा बसेकी ईश्वरीले चिकित्सकसँगको परामर्शपछि रगत परीक्षण गर्नुपर्ने भयो । तर, स्वास्थ्य बिमाको काउन्टरमा सर्भर डाउन भएपछि बिल काट्न नपाउँदा यत्तिकै अड्किएर बस्नुपर्यो ।
यसैगरी नवलपरासीको सुनवल नगरपालिका–१२ देखि आएकी दुर्गा ढकाल पनि अस्पतालको सर्भर कतिखेर खुल्छ प्रतीक्षामा बस्दै गरेको भेटिइन् । उनले दिदीकी छोरी सलिना पंगेनीलाई घाँटीको उपचार गराउनका लागि अस्पताल ल्याएको बताइन् । ‘चिकित्सकसँग भेटेपछि एक पटक रगत परीक्षण गरेर हेरौं भन्नु भएको छ । तर, रगत परीक्षण गराउनका लागि सर्भर डाउन हुँदा बिल नै काट्न पाइएन ।’–दुर्गाले भनिन्, ‘बिहान ९ बजेनै अस्पताल आएका थियौँ, अहिले घर फर्किने बेलासम्म पनि अस्पतालमा सर्भर चलेन भनेका छन् । अझै कति समय कुर्नुपर्ने हो थाहा छैन ।’ लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य बिमा काउन्टर अगाडि बुधबार दिउँसो करिब सय जनाको संख्यामा सेवाग्राहीहरु प्रतीक्षामै बसिरहेका थिए । सोही भीडमा रुपन्देही सैनामैना–५ की भागीरथी अर्याल पनि प्रतीक्षामै थिइन् । आफ्नो ७१ वर्षीया आमा दिलमाया अर्याललाई उपचार गराउन आएकी उनले भदौको चर्को घाममा पसिना पुछ्दै बिल काट्ने प्रतीक्षामा अस्पतालको काउन्टर कुरिरहेकी थिइन् ।
यसैगरी प्यूठानको प्यूठान नगरपालिका–२ बाट एकराज गौतम अस्पतालमा आएको ५ दिन बितिसक्यो । ७७ वर्षीया आमा कमलेश्वरी गौतमलाई उपचार गराउन आएका उनले होटलमा बास बसेर उपचारका लागि अस्पतालमा दैनिक फलोअपमै छन् । आमालाई पेट सम्बन्धी रोगको उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेपछि उनी बुटवल आएका हुन् । ‘अस्पतालमा आएपछि आमालाई सबै रोगको परीक्षण गराएर घर लैजाने सोचेको थिएँ, तर कहिले के मिल्दैन, कहिले के । पाँच दिन बितिसक्यो ।’–एकराजले भने, ‘सबै कुरा समयमै नहुने, भिडभाड पनि उस्तै, सर्भरको समस्याले बिलिङमा उस्तै समस्या । बुटवलमा बसेर खर्च मात्रै बढ्यो ।’ बिहान ७ बजे आउने दिउँसो ३ बजे फर्किने दैनिकी जस्तै भएको उनले गुनासो गरे । अस्पतालका स्वास्थ्य बिमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार विगत १० दिनदेखि सर्भरको समस्या देखिएको छ । पटक–पटक स्वास्थ्य बिमा बोर्डमा जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनले बताए । अस्पताल बिहान ८ बजेदेखि स्वास्थ्य बिमाको काउन्टर सञ्चालन गरिने भएपनि बिहान १० बजेपछि सर्भर नचल्दा कामकाज ठप्प हुने गरेको छ । अस्पतालमा दैनिक करिब १ हजार सेवाग्राही बिमा कार्यक्रम अन्तरगत सेवा लिन आउने गर्दछन् । ‘यो समस्या यसअघि साउन महिनामा पनि आएको थियो । बिमा बोर्डले ५ दिनसम्म पूर्ण रुपमा सेवा बन्द गरेर मर्मतको कार्य गरेको जनाए पनि फेरी उस्तै समस्या देखिएको छ ।’–अस्पतालका स्वास्थ्य बिमा शाखा प्रमुख पौडेलले भने, ‘बिमा बोर्डले सर्भरको समस्या समाधान नगर्दा यहाँ आउने हजारौं सेवाग्राही प्रभावित भएका छन्, जसको अपजस हामीले खेप्नु परेको छ ।’
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले स्वास्थ्य बिमाको सर्भर डाउन बारे स्वास्थ्य बिमा बोर्डलाई जानकारी गराइएको बताए । ‘सेवाग्राहीलाई समयमै उपचार सेवा उपलब्ध गराउन नसक्दा हामी अत्यन्तै दुखित छौँ । अहिलेको समस्या छिटोभन्दा छिटो समाधान होस भन्ने अस्पताल प्रशासनको चाहना हो ।’–मेसु डा. ढकालले भने, ‘सम्बन्धित निकायलाई पत्राचार गरी समस्या बारे जानकारी गराउने काम भएको छ, यो समस्याप्रति हामी अत्यन्तै गम्भीर छौँ ।











प्रतिक्रिया